नक्कली विवरण पेस गरेर वंशजको आधारमा नेपाली नागरिकता लिएका भारतीय नागरिक अलियास अन्सारी कैलाली जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि कारागार चलान भएका छन् । उनलाई नागरिकता दिलाउन सहयोग गरेका दुईजनालाई भने अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
भारतीयलाई नागरिकता दिन सिफारिस गरेका धनगढी उपमहानगरपालिका– १२ का अध्यक्ष गणेशप्रसाद जोशी २५ हजार धरौटी बुझाएर रिहा भएका छन् । दाइ बनेर अन्सारीलाई नागरिकता दिलाउन सहयोग गरेका धनगढी– १२ का खुसीराम चौधरीलाई ५० हजार धरौटीमा रिहा गर्न अदालतले आदेश दिए पनि धरौटी बुझाउन नसकेपछि कारागार चलान गरेकाे जिल्ला अदालतले जनाएको छ ।
कैलालीको टीकापुरमा बस्दै आएका भारतीय नागरिक अन्सारीले ०७५ फागुनमा जिल्ला प्रशासन कार्यालयबाट वंशजको आधारमा नेपाली नागरिकता लिएका थिए । भारतीयले नेपाली नागरिकता लिएको जाहेरी परेपछि प्रहरीले अन्सारीसहित नक्कली दाइ–भाउजू बनेर नागरिकता दिन सहयोग गरेका खुसीराम चौधरी र गीता चौधरी तथा नागरिकताका लागि सिफारिस गर्ने वडाध्यक्ष जोशीलाई पक्राउ गरेर मुद्दा चलाएको थियो ।
बुबा बनेर अन्सारीलाई नागरिकता दिलाउन सहयोग गरेका पुनिराम चौधरी भने फरार छन् । पुनिराम र उनका छोरा खुसीरामले एक लाख रुपैयाँ लिएर अन्सारीलाई नागरिकता दिलाउन सहयोग गरेको खुलेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले पैसाकाे लाेभमा पुनिराम नक्कली बुबा, खुसीराम र गीताले नक्कली दाइ–भाउजू बनेर वडाबाट सिफारिस लिई भारतीयलाई वंशजको आधारमा नेपाली नागरिकता दिलाएको पाइएको बताए ।
गीतालाई साधारण तारेखमा रिहा गरिएको छ । अन्सारीले झुक्याएर लिएको नेपाली नागरिकता खारेजीका लागि पनि प्रक्रिया अगाडि बढेको विष्टले बताए ।