सल्लाह गरेर पार्टी अलग गरौँ भन्ने कुरा जहाँबाट आएको भए पनि सही होइन : नारायणकाजी श्रेष्ठ

मंगलबार, १८ कार्तिक, २०७७
डिजिटल संस्करण

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सल्लाह नै गरेर भए पनि पार्टी अलग गर्ने भनी आएको कुरा सही नभएको जनाएका छन् । 

सामाजिक सञ्जाल फेसबुकमार्फत श्रेष्ठले त्यस विषयलाई व्यक्तिगत कटुतासहितको विषय बनाउनेभन्दा उक्त विषयलाई छलफल, बहसबाट सकारात्मक निष्कर्ष निकाल्नुपर्नेमा जोड दिएका हुन् । 

उनले देश र जनताको हितलाई केन्द्रमा राखेर विचार, नीति र प्रवृत्तिमा आधारित भई स्वस्थ तथा रूपान्तरणमुखी छलफल गर्न आवश्यक रहेको जनाएका छन् । 

उनले लेखेका छन्, ‘सल्लाह गरेर पार्टी अलग–अलग गरौँ भन्ने कुरा जहाँसुकैबाट आएको भए पनि सही होइन । तर, त्यसमा अन्तर्निहित एउटा पक्ष, अर्थात् व्यक्तिगत कटुतासहितको व्यक्तिगत विषय नबनाऔँ भन्ने कुरा सही छ र त्यसलाई पार्टी विभाजन नगरी अर्काे सन्दर्भमा सकारात्मक रूपले प्रयोग गरौँ । पार्टीभित्रको छलफल, बहस र अन्तर्संघर्षलाई व्यक्तिगत गालीगलौज र आरोप–प्रत्यारोपको रूप नदिऔँ ।’

उनले थप लेखेका छन्, ‘राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर विचार, नीति, प्रवृत्तिमा आधारित भई स्वस्थ एवं रूपान्तरणमुखी छलफल गरौँ । तैँ चुप मै चुप नगरौँ, तुम शेर तो हम सवा शेर झैँ व्यक्तिगत झगडा तथा गालीगलौज पनि नगरौँ ।’

उनले पार्टी एकताको रक्षा गर्नुपर्नेमा जोड दिएका छन् ।

सुझावित समाचार