आर्थिक संकटलाई पार लगाउन महासंघमा दरिलो नेतृत्व आवश्यक : उपाध्यक्ष ढकाल

मंगलबार, १८ कार्तिक, २०७७
डिजिटल संस्करण

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले कोभिड–१९ का कारण संकटमा रहेका साना तथा मझौला व्यवसायलाई बचाउन महासंघको अबको नेतृत्व सबल र सक्षम हुनुपर्ने बताएका छन् ।

काठमाडौंमा सोमबार ढकाल प्यानलका पदाधिकारीसहितका उम्मेदवारहरूसँगको अन्तरक्रियामा उनले यस्तो बताएका हुन् । ‘कोभिडका कारण हामीले इतिहासमै कहिल्यै नसोचेको क्षति भोगेका छौँ र अझै के–कस्तो जटिलताको सामना गर्नुपर्ने हो भन्ने स्पष्ट भइसकेको छैन । त्यसैले पनि देशको उद्योग एवं समग्र व्यापार–व्यवसायलाई बचाइराख्न बलियो काँध चाहिएको छ,’ उनले भने, ‘सही र सक्षम नेतृत्व चुन्नुपर्ने वेला आएको छ, महासंघको आगामी नेतृत्वले मुलुकको यो जटिल परिस्थितिलाई सहजतातर्फ उन्मुख गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने हुन्छ ।’ 

महासंघको नेतृत्वमा सफल र सक्षम व्यवसायी पुगेमा महासंघको गौरवपूर्ण इतिहास र ओज कायमै रहने उनले बताए । यसका लागि महासंघको नेतृत्वमा पुग्ने मान्छे एक सशक्त व्यावसायिक नेटवर्कसहितको एउटा सफल व्यवसायी हुनुपर्ने र यस्तो व्यवसायी देशका समग्र व्यवसायीका समस्यासँग अवगत रहेको हुनुपर्ने उनको भनाइ छ । 

सो अन्तरक्रियात्मक  भेलामा ढकाल समूहबाट उम्मेदवारहरू उमेशलाल श्रेष्ठ, गुणनिधि तिवारी, रामचन्द्र संघईलगायतको उपस्थिति रहेको थियो । ‘हाम्रो यो समूह सबै मुलुकको व्यापार–व्यवसायको सबै किसिमका अनुभवले भरिएको छ, विश्वासले भरिएको छ,’ उनले भने, ‘यसमा जिल्ला नगरका साना तथा मझौला व्यवसायदेखि केन्द्रका ठूला व्यावसायिक घरानासम्मको उपस्थिति छ । त्यति मात्रै नभएर हाम्रो यो समूह गाउँ, जिल्ला नगरदेखि नीतिगत तहसम्म पहुँच पुर्याउन सक्छ ।’

सुझावित समाचार