पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहट धन्सारदेखि बागमती नदीसम्मको मुख्य सडक मर्मत नहुँदा खाल्डैखाल्डा बनेका छन् । तीव्र गतिमा सवारी साधन गुड्ने मूल सडकका खाल्डा नपुरिँदा गाडी चलाउन असहज भएको सवारी चालकहरू बताउँछन् ।
यो सडकखण्ड हुँदै दैनिक हजारौँ सवारी साधन गुड्छन् । राजमार्ग नै भत्केर कुरूप बन्दा पनि सरोकारवाला निकायको ध्यान जान नसकेको स्थानीयको भनाइ छ । रौतहट चन्द्रनिगाहपुर बजार क्षेत्रमै सडक भत्केर ठाउँ–ठाउँमा खाल्डा परेका छन् । ‘बजार क्षेत्रमा धुलोबाट जोगिन नाकमुख धुनेर हिँड्नुपर्छ,’ स्थानीय रवि राना मगरले भने । असार र साउनमा वर्षाको भेलले राजमार्ग भत्काएको हो ।
राजमार्गको चादी र बागमती पुलमा खाल्डो परेका कारण दुर्घटनाको जोखिम बढेको सवारी चालक रंग तिमल्सिनाले बताए । त्यसबारे सडक डिभिजन कार्यालय, चन्द्रनिगाहपुरलाई पटक–पटक जानकारी गराउँदा पनि चासो नदिएको स्थानीय राजु तिवारीले बताए ।
रौतहट क्षेत्र नम्बर ४ का सांसद देवप्रसाद तिमल्सिनाले पनि पटक–पटक त्यस विषयमा सडक डिभिजनलाई जानकारी गराउँदा वास्ता नगरेको बताए । सडक डिभिजन प्रमुख दरोगा साहले वर्षा र चाडबाडका कारण समयमा काम हुन नसकेको र तत्काल खाल्डामा कालोपत्रे थाल्न ठेकेदारलाई निर्देशन दिएको बताए ।