विश्वका संसद्हरूको साझा मञ्च अन्तरव्यवस्थापिका संघ (आइपियू)को गभर्निङ काउन्सिलको २०६औँ अधिवेशन सुरु भएको छ । आइतबार रातिबाट सुरु भएको भर्चुअल अधिवेशन चार दिनसम्म चल्नेछ ।
अधिवेशनमा नेपालका तर्फबाट संघीय संसद्, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्री र राष्ट्रिय सभा सदस्य जितेन्द्रनारायण देवले गभर्निङ काउन्सिल सदस्यका रूपमा सहभागिता जनाएका छन्। यस्तै, अधिवेशनमा सांसद एकवाल मियाँ पर्यवेक्षकका रूपमा सहभागी छन्।
गभर्निङ काउन्सिलको यो अधिवेशनले आइपियूका नयाँ अध्यक्ष निर्वाचित गर्नेछ । हरेक गभर्निङ काउन्सिल सदस्यले गोप्य मतदानमार्फत अध्यक्षको चयन गर्नेछन् ।
मतदान भर्चुअल माध्यमबाट भएको छ । अधिवेशनमा नेपालसहित १ सय ६२ देशका प्रतिनिधिको सहभागिता रहेको छ।
यो अधिवेशनमा आइपियूको अध्यक्ष पदका लागि पाकिस्तान, पोर्चुगल, उज्वेकिस्तान र क्यानडाका प्रतिनिधिले उम्मेदवारी दिएका छन् । आइपियू अध्यक्षको कार्यकाल तीन वर्षको हुनेछ ।
यसैबीच नेपालबाट अन्तरव्यवस्थापिका संघ (आइपियू)को गभर्निङ काउन्सिलको २०६औँ अधिवेशनमा सहभागी सभामुख सापकोटासहित प्रतिनिधिसभाका सदस्य झाँक्री र राष्ट्रिय सभाका सदस्य जितेन्द्रनारायण देवले आइपियू अध्यक्ष चयनका लागि गोप्य मतदान गरेका छन्।