प्रशिक्षणमा बोलाइएका थप एकजना संक्रमित

शनिबार, १५ कार्तिक, २०७७
डिजिटल संस्करण

नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षणमा बोलाइएका थप एक खेलाडी कोरोना भाइरस संक्रमित भएका छन् । यसअघि बिहीबार चारजना फुटबलर संक्रमित भएका थिए । शुक्रबार आएको रिपोर्टमा ती एकजना खेलाडी पनि संक्रमित भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । एन्फाले पाँचजना खेलाडीलाई आइसोलेसनको व्यवस्था गरेको छ । 

एन्फाले संक्रमित भएका खेलाडीलाई जमलस्थित होटेल एलो प्यागोडामा राखेको प्रवक्ता किरण राईले नयाँ पत्रिकालाई जानकारी दिएका छन् । ‘एलो प्यागोडामा बिहीबार चारजनालाई आइसोलेसनमा राखिएको थियो भने शुक्रबार थप एकजना संक्रमित भएपछि सोही होटेलमा अब पाँचैजना खेलाडी क्वारेन्टाइनमा बसेका छन् ।’ 

एन्फाले पाँचै खेलाडीको नाम गोप्य राखेको छ । २८ कात्तिक र २ मंसिरमा नेपालले बंगलादेशविरुद्धको मैत्रीपूर्ण अभ्यास खेलकै लागि बुधबार ३४ खेलाडीलाई प्रशिक्षणमा डाकेको थियो । मुख्य प्रशिक्षक योकान कालिन स्विडेनबाट आउन नसक्ने भएपछि एन्फाले बालगोपाल महर्जनलाई प्रशिक्षणको जिम्मेवारी सुम्पिएको छ । बंगलादेशको प्रस्तावमै नेपाल दुई मैत्रीपूर्ण खेल खेल्न राजी भएको हो । 

महर्जनले खेलाडीलाई मुख्य प्रशिक्षककै रूपमा प्रशिक्षण गराएका छन् । यद्यपि लगातार दुई दिन खेलाडी कोरोना संक्रमित हुँदा खेलाडीको प्रशिक्षण नरोकिने भएको छ । एन्फाका प्रवक्ता राईले बाँकी रहेका खेलाडीले निरन्तर अभ्यास गर्ने बताए । ‘संक्रमित खेलाडी क्वारेन्टाइनमा गएका छन्, बाँकी खेलाडी प्रशिक्षणमा रहनेछन्,’ उनले भने, ‘अहिले अन्य खेलाडीको पिसिआर परीक्षण गर्नुपर्ने आवश्यकता छैन ।’ 

एन्फाले प्रशिक्षणमा रहेका २९ जना खेलाडीलाई त्रिपुरेश्वरस्थिति वर्ल्ड ट्रेड सेन्टरमा बस्ने व्यवस्था मिलाएको छ । एन्फाले १२ कात्तिकमा काठमाडौंमा उपस्थित भएका खेलाडीको तत्कालै कोरोना परीक्षण गराएको थियो । 

एन्फाले खेलकुद परिषद्को अनुमतिपछि नै खेलाडीलाई प्रशिक्षणमा बोलाएको हो । विश्वभरि फैलिएको कोरोना भाइरसका कारण गत चैतपछि खेलाडी अभ्यासविहीन थिए । नेपालले ०७५ मा साफ च्याम्पियनसिपमा बंगलादेशलाई २–० ले हराएको थियो ।

सुझावित समाचार