तालिवानको जाली समावेशिता

शुक्रबार, १४ कार्तिक, २०७७
डिजिटल संस्करण

दोहामा सम्पन्न अन्तर–अफगान वार्तामा तालिवानको समावेशिताको मुखुन्डो सबैका सामु उतारियो  

सेप्टेम्बर १२ मा लामो समयदेखि प्रतीक्षामा रहेको अन्तर–अफगान वार्ता दोहामा सुरु भयो । योसँगै अफगान शान्ति प्रक्रिया महत्वपूर्ण चरणमा प्रवेश गरेको छ । तर, वार्ता सुरु भएलगत्तै केही विषयमा असहमति उत्पन्न भएपछि वार्ता अवरुद्ध भएको छ । प्रमुख दुई असहमतिका बुँदामध्ये एउटा तालिवानले उठाएको इस्लामिक न्यायव्यवस्थामा देखिन्छ । अर्को असहमतिको विषय तालिवान र अमेरिकाबीच यसअघि सम्पन्न सम्झौतालाई अहिलेको छलफलमा कुन रूपमा लिने भन्ने कुरामा देखिन्छ । विवादको पहिलो विषय अफगानिस्तानमा अभ्यासमा रहेको हनाफी न्यायव्यवस्था अन्य सुन्नीबहुल मुलसमान देशमा पनि अभ्यास हुन्छ । तर, तालिवानले हनाफीबाहेक बाँकीलाई रोक लगाउनुपर्ने बताएको छ । 

यसो भएमा अफगानिस्तानमा बसोवास गर्ने दशौँ लाख सिया तथा अन्य धार्मिक अल्पसंख्यक छुट्नेछन् । सरकारले कुनै एउटा न्यायव्यवस्थालाई मात्र स्विकार्नुको साटो इस्लामको सर्वोच्चतालाई स्वीकार गर्न सकिने बताएको छ । सरकारले वर्तमान अफगान संविधानकै व्यवस्थालाई अघि सारेको हो । तर, तालिवानले भने वर्तमान संविधानलाई गैरइस्लामिक मान्छ । अन्तर–अफगान वार्ताका क्रममा देखिएको विवादले तालिवानको कल्पनाको अफगानिस्तान कस्तो हुनेछ भन्ने झलक देखाउँछ । पहिलेदेखि तालिवानले शासनदेखि निर्वाचन, न्यायिक दर्शनदेखि वाक स्वतन्त्रतासम्म र महिला अधिकारका विषयमा एउटै कुरा दोहोर्याउँदै आएको थियो । उसले यी सम्पूर्ण विषय ‘समावेशी इस्लामिक’ एमिरेटले सम्बोधन गर्ने बताउँदै आएको छ । अफगानिस्तानले विगतमा दोहोर्याउने अमूर्त पदावलीको अर्थ खुल्दै गएको छ । 

तालिवानले बारम्बार दोहोर्याउने गरेको समावेशितामा होसियार हुनुपर्ने देखिँदै गएको छ । तालिवानले प्रस्ताव गरेको इस्लामिक एमिरेटमा सिया मुलसमान तथा अन्य अल्पसंख्यक समूहको धार्मिक स्वतन्त्रता नस्विकारिने संकेत देखिएको छ । यसले भावी सम्झौतापछि तालिवान सत्तामा आएमा आफ्नो अवस्थालाई लिएर लाखौँ चिन्तित देखिन थालेका छन् । इस्लामबारे तालिवानको संकीर्ण सोच र अल्पसंख्यकविरुद्ध इतिहासमा तिनले उठाएका कठोर कदमले थप चिन्ता बढाएको छ । अफगानिस्तानको ४० वर्षे द्वन्द्वको सबैभन्दा बदनाम नरसंहारमध्ये एउटा सन् १९९८ मा घटेको थियो । तालिवानले मजार–ए–सरिफमा हजारौँको संख्यामा हजारा जातिको नरसंहार गरेको थियो । हजारा समुदायले सिया मुलसमान भएकै कारणले नरसंहारको सामना गरेका थिए । आमहत्याको क्रममा तालिवानले हजारालाई तीन विकल्प दिएका थिए : ‘सुन्नी बन्ने, अफगानिस्तान छाड्ने वा मर्ने ।’

अफगानहरू सुन्नी तथा सियाबीचको बलियो ऐक्यबद्धता तथा एकतामा गर्व गर्छन्, तर तालिवानले सिया समुदायलाई तारो बनाउँदा अफगान एकताको भाव संकटमा पर्दै छ 

हजारा तथा अन्य अल्पसंख्यक समूहले शताब्दीऔँदेखि यस्तो कठोर विकल्प सामना गरिरहेका छन् । सिख र हिन्दूहरू ठूलो संख्यामा अफगानिस्तान छाडिरहेका छन् । अफगानहरू सुन्नी तथा सियाबीचको बलियो ऐक्यबद्धता तथा एकतामा गर्व गर्छन् । तर, तालिवानको भनाइ र गराइले अफगान एकताको भाव संकटमा पर्दै छ । तालिवानको सियाप्रतिको घृणाले मलजल गरेको वातावरणमा आइएस तथा तिनसँग सम्बद्ध समूहले सिया तथा हजारा समुदायमाथिको आक्रमणलाई जारी राखेका छन् ।

हुन त तालिवान र आइएसले एक–अर्कालाई शत्रु मान्ने गरेका छन्, तर अल्पसंख्यकमाथिको आक्रमणको सन्दर्भमा भने उनीहरूबीच रणनीतिक सम्बद्धता देखिन्छ । तालिवानको असमावेशी दृष्टिकोण अल्पसंख्यक अफगानको धार्मिक स्वतन्त्रतामा मात्र सीमित छैन । यो तिनको समग्र सिद्धान्त र कार्यशैलीसँग जोडिएको देखिन्छ । तालिवान नियन्त्रणमा रहेको भूगोलको जीवनशैली तथा दोहामा गएको तिनको वार्ता टोली हेर्दा पनि त्यो देखिन्छ । तालिवानले बारम्बार महिला अधिकारलाई समर्थन गर्ने बताए पनि उसले अझै छात्रा अध्ययन गर्ने विद्यालयमा आक्रमण गरिरहेका छन् । त्यस्तै, अफगानिस्तानको बहुंसख्यक जनता युवा तथा महिला भए पनि तालिवानको वार्ताटोलीमा तिनको प्रतिनिधित्व शून्य देखिएको छ । 

त्यस्तै, अफगानिस्तान बहुलवादी तथा बहुसांस्कृतिक मुलुक हो । तर, तालिवानको वार्ताटोलीमा धार्मिक, जातीय, भाषिक, सांस्कृतिक तथा व्यावसायिक विविधता देखिँदैन । विविधताको अनुपस्थितिले धेरै कुरा भन्छ । यसले तालिवानले वकालत गर्ने इस्लामिक एमिरेटमा ककसलाई स्विकारिनेछ भन्ने बताउँछ । बोलीमा समावेशिताको कुरा गरे पनि व्यवहारमा चरम असमावेशी तालिवानको चरित्र त्यति अनौठो भने होइन । अमेरिकासँगको सम्झौतामा प्रतिबद्धता गरेको आतंकवादको विरोध गर्ने वाचाबाट तालिवान पछि हटिसकेको छ । उसले अलकायदासँगको सहकार्य निरन्तरता दिइरहेको छ । इस्लामिक एमिरेटको चरित्रमा बारम्बार देखिने कपटले तालिवानलाई हतारिएर विश्वास गर्दाको खतरा निम्तिने संकेत गर्छ । आखिरमा दिगो शान्ति साँचो अर्थको समावेशी प्रक्रिया अपनाएर आउँछ, समावेशी भएको नाटक पारेर होइन । 

(मेहदी जे हाकिमी स्ट्यानफोर्ड ल स्कुलका प्राध्यापक हुन् ।)
अल जजिराबाट

 

सुझावित समाचार