पर्वतमा कोभिड– १९ को संक्रमण बढ्दै गएपछि जिल्लास्तरीय कोभिड– १९ संकट व्यवस्थापन केन्द्रको बैठकले शुक्रबार राति १२ बजेदेखि कुश्माबजार बन्द गर्ने निर्णय गरेको छ ।
बिहीबार प्रमुख जिल्ला अधिकारी, जिल्लाका स्थानीय तहका प्रमुख एवं प्रतिनिधि र अन्य सरोकारवालासहितको बैठकले कात्तिक १४ गते राति १२ बजेदेखि ७ दिनसम्मका लागि साबिकको जिल्ला सदरमुकाम कुश्माबजार बन्द गर्ने निर्णय गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी विमल गौतमले दिएको जानकारीअनुसार पर्वतको कुश्मा नगरपालिकाको कार्यालयसँगै मातहतका वडा कार्यालय ४, ५, ६ र ७ सात दिनका लागि बन्द गर्ने र अत्यावश्यकबाहेकका व्यवसायहरू पनि बन्द गर्ने निर्णय भएको छ ।
कुश्माबजारभित्र व्यवसाय सञ्चालन गरी बस्ने केही व्यक्तिहरूमा समेत कोभिड– १९ पुष्टि भएपछि यस्तो निर्णय भएको गौतमले जानकारी दिए ।
पर्वतमा बिहीबारसम्म एक सय ६६ जना कोेभिड– १९ बाट संक्रमित भइसकेका छन् भने दुईजनाको मृत्यु भएको छ ।
कोभिड– १९ को संक्रमणलाई न्यूनीकरण गर्न प्रहरीले कुश्माबजार र जिल्लाका अन्य सहरी क्षेत्रमा मास्क लगाउने अभियानलाई कडाइ गर्दै आइरहेको छ ।
तस्बिर : सामाजिक सञ्जालबाट