गत बिहीबार शपथग्रहण कार्यक्रममा नेकपाकाे दुई पक्षबीच भएको झडपमा परेर मृत्यु भएका विन्दवासनी गाउँपालिकाका सचिव मुकेश चौरसियाको घटनामा संलग्नविरुद्ध सरकारी वकिल कार्यालय पर्सामार्फत जाहेरीसहितको निवेदन दर्ताको भएको छ ।
बिहीबार दिउँसो ३ बजे जिल्ला सरकारी वकिल कार्यालय पर्सामार्फत जिल्ला प्रहरी कार्यालय पर्सामा १२ जनामाथि कारबाहीको माग राख्दै जाहेरीसहितको निवेदन दर्ताको भएको हो ।
सरकारी वकिल कार्यालयमार्फत मृतकका भाइ महेश चौरसियाले जाहेरीसहितको निवेदन दर्ता गराएको पर्सा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन् ।
उनले मृतक चौरसियाको घटनामा संग्लनविरुद्ध वकिल कार्यालयमार्फत आएको जाहेरीसहितको निवेदनमा अनुसन्धान गरेर कारबाही अगाडि बढाइने बताइन् ।
घटनामा संग्लनविरुद्ध सुरुमा पर्सा प्रहरीमा लगेको जाहेरीलाई नै सरकारी वकिल कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालय पर्सामा दर्ता भएको सरकारी वकिल कार्यालयका वकिल पदम कार्कीले बताए ।
घटनामा संग्लनलाई कारबाहीको माग राख्दै जाहेरीसहितको निवेदन १९४ नम्बरमा दर्ता भएको कार्कीले बताए ।
एक सातादेखि घटनामा संग्लनलाई कारबाही माग राख्दै प्रदर्शन
चौरसियाको घटनामा संलग्नविरुद्ध जाहेरी दर्ताको माग गर्दै एक सातादेखि प्रदर्शन हुँदै आएको छ ।
बिहीबार बिहान १२ बजेदेखि जिल्ला प्रहरी कार्यालयअगाडि नेकपा पर्साका नेता तथा कार्यकर्ताले घटनामा संलग्नविरुद्ध जाहेरी दर्ताको माग राख्दै प्रहरीविरुद्ध प्रदर्शन गरेका हुन् ।
उनीहरूले घटनामा संलग्न व्यक्तिलाई कर्तव्य ज्यान मुद्दाको जाहेरी दर्ता गर्न माग गर्दै प्रदर्शन गरेको बताए ।
पर्सा प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान गर्न ढिलासुस्ती गरेको भन्दै मृतकका परिवारजनले लास बुझ्न मानेका छैनन् ।
जिल्ला प्रहरी कार्यालयअगाडि शान्तिपूर्ण प्रदर्शनमा सहभागीले दोषीलाई कारबाही नगरेसम्म आन्दोलन जारी रहने बताएका छन् ।
चौरसियाको घटनामा संलग्नलाई पर्सा प्रहरीले बचाउन हालसम्म जाहेरी दर्ता गर्नै नमानेको भन्दै पर्सा प्रहरीविरुद्ध प्रदर्शन गर्दै आएको बताएका हुन् । चौरसियाको घटनामा संलग्नविरुद्ध जाहेरी दर्ता गर्न प्रहरीको माथिल्लो निकायबाट निर्देशन आए पनि पर्सा प्रहरी आलटाल गरिरहेको आरोप उनीहरूको छ ।
यस्तै उनीहरूले प्रदर्शनमा हाम्रो मुद्दा दर्ता गर, हत्यारालाई कारबाही गर, निकम्मा प्रशासन मुर्दावाद, हाम्रो आन्दोलन जारी छ लगायतका नारा लगाउँदै सयौँको उपस्थितिमा विरोध प्रदर्शन गरेका हुन् ।
मृतक चौरसियाको घटनामा संलग्नलाई कारबाही गराउन कुनै पनि हालतमा पछाडि नहट्ने उनीहरूको अडान छ ।
प्रदर्शनमा (नेकपा)का प्रदेश सहइन्चार्ज नागेन्द्र चौधरी, जिल्ला इन्चार्ज रामचन्द्र साह, नेकपा केन्द्रीय सदस्य दिनेश राई, प्रदेश कमिटी सदस्य छोटेलाल यादव, बालगोपाल थापालगायतका नेता–कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।
झडपमा सहभागी तीनजना प्रहरी नियन्त्रणमा
शपथग्रहण कार्यक्रममा असन्तुष्ट पक्षले आफूलाई सहभागी नगराएको भन्दै झडप गर्ने तीनजनालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
पक्राउ पर्ने हनिफ मियाँ, देवा सहनी र सोकदिन गदी रहेको पर्सा प्रहरीका प्रहरी उपरीक्षक पन्तले जानकारी दिइन् । उनले घटनालाई अनुसन्धान गरी कारबाहीको तयारी भइरहेको बताए ।
गत बिहीबार पर्साको विन्दवासनी गाउँपालिका– ५ प्रसौनी भाठामा झडपमा परी घाइते भएका चौरसियाको उपचारको क्रममा शुक्रबार मृत्यु भएको हो ।
बिहीबार दिउँसो १२ बजे विन्दवासनी गाउँपालिका शपथग्रहण कार्यक्रममा झडप हुँदा आठजना घाइते भएका थिए । जसमा चारजना उपचार गरी घर फर्केका छन्।
मुकेशको टाउकोमा गम्भीर चोट लागेको थियो । उपचारको क्रममा नै चौरसियाको वीरगन्जको एलएस न्युरो अस्पतालमा गत शुक्रबार बिहान मृत्यु भएको हो ।