नेकपा विप्लव समूहका पूर्वी कमान्ड मेची–कोसी ब्युरो चौथो कम्पनी कमिसार तथा सप्तरीका सेक्रेटरी काशीनाथ घिमिरेसहित दुईजना पक्राउ परेका छन् ।
विभिन्न हिंसात्मक गतिविधि गरेको आरोपमा मोरङका एसपी सन्तोष खड्काको टोलीले मोरङ मिक्लाजुङ गाउँपालिका– १ घुर्मिसेबाट १२ कात्तिक साँझ सप्तरी सुरुंगा नगरपालिका– २ बस्ने ३२ वर्षीय प्रतीक भन्ने काशीनाथ घिमिरे र इलाम चुलाचुली गाउँपालिका– ६ बस्ने पार्टी सदस्य १८ वर्षीय कमरेड सनम भन्ने विज्ञान राईलाई बन्दोबस्तीका सामानहरूसहित पक्राउ गरेको हो ।
मोरङ प्रहरी प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी गराएअनुसार स्थानीय बिजुलीप्रसाद तिम्सिनाको खाली घरमा बस्दै आएका उनीहरूले सेल्टर लिँदै आएको सूचना प्राप्त भएपछि प्रहरीले घेरा हालेर बस्दोबस्तीका विभिन्न सामानसहित पक्राउ गरेको हो ।
उनीहरूले बस्दै आएको घरमा लुकाएर राखेका एक थान भरुवा बन्दुक, विस्फाेटक पदार्थहरू जिलेटिन, सुतली बम, सकेट बम, टुकी बम, डेटोनेटर, विभिन्न इलेक्ट्रिक तार, फ्युज, पेचकस, १२ थान झोलासहित डायरी र दस्ताबेजहरू बरामद भएको प्रहरीले जनाएको छ ।