नरभक्षी बाघलाई नियन्त्रणमा लिइने

बुधबार, १२ कार्तिक, २०७७
डिजिटल संस्करण
नरभक्षी बाघलाई नियन्त्रणमा लिइने

फाइल तस्वीर

बर्दियाको मधुवन नगरपालिका– ३ धनौरामा पटकपटक मान्छे मार्ने बाघलाई नियन्त्रणमा लिइने भएको छ ।

घटनास्थलको अनुगमनपश्चात् धनौरामा नै बसेको जिल्ला सुरक्षा समितिको बैठकले बाघलाई डाट (बेहोस बनाई) नियन्त्रणमा लिने निर्णय गरेको हो । 

बाघको आक्रमणबाट सो स्थानमा हालसम्म चारजनाको मृत्यु भएको छ । 

मंगलबार मधुवन नगरपालिका– ३ मा रहेको बेलझुन्डी सामुदायिक वनमा दुईजनालाई बाघले मारेपछि आज जिल्ला सुरक्षा समितिको बैठक बसी सो निर्णय भएको हो । 

बर्दियाका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी, मधुवन नगरपालिकाका मेयर गणेशबहादुर केसी, बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत असिम थापा, सहायक जिल्ला वन अधिकृत द्रोणराज शर्मा, सुरक्षा निकायलगायतको टोलीले घटनास्थलको निरीक्षण गरेको थियो ।

निरीक्षणपश्चात् बैठक बसी तत्काल बाघलाई नियन्त्रण लिने प्रक्रिया सुरु गर्ने निर्णय गरिएको हो । 

बाघ नियन्त्रण लिनका लागि सुरुमा क्यामेरा ट्रयापिङ गरी बाघ नरभक्षी भए–नभएको र बाघ भएको स्थान पत्ता लगाइनेछ ।

बाघको अवस्था पत्ता लगाइसकेपछि डिभिजन वन कार्यालय बर्दियाको अनुरोधमा बर्दिया राष्ट्रिय निकुञ्जका हात्ती र प्राविधिकहरूको सहयोगमा खाता जैविकमार्ग क्षेत्रबाट नियन्त्रणमा लिइने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी नारायण ढकालले बताए । 

ढकालले बर्दिया राष्ट्रिय निकुञ्ज र मधुवन नगरपालिकाको सहयोगमा बाघलाई नियन्त्रणमा लिएर व्यवस्थापन गर्ने निर्णय भएको बताएका छन् । 

त्यसैगरी सुरक्षा समितिले बाघको आक्रमणबाट मृत्यु भएका परिवारहरूलाई नियमअनुसारको राहत उपलब्ध गराउन पहल गर्ने निणर्य गरेको सूचना अधिकारी ढकालले बताए । 

मधुवन नगरपालिकाका मेयर गणेशबहादुर केसीले जनताको सुरक्षालाई मध्यनजर गर्दै बाघलाई अविलम्ब नियन्त्रणमा लिनुपर्ने माग गरेका छन् ।  

पटकपटक एकै स्थानमा मानिसलाई आक्रमण गरेकोले बाघ नरभक्षी नै भएको हुन सक्ने बताउँदै बाघलाई नियन्त्रणमा नलिए धनौरावासी असुरक्षित भएको बताए । 

उनले बाघको आक्रमणबाट मृत्यु भएका मृतकका छोराछोरीलाई शिक्षा तथा रोजगारका लागि नगरपालिकाले सहयोग गर्ने बताए । 

मधुवन नगरपालिका– ३ धनौरामा मंगलबार २७ वर्षीय दिनेश थारू र २६ वर्षीय रमेश चौधरीको बाघको आक्रमणमा मृत्यु भएको थियो । 

त्यसैगरी गत ५ कात्तिकमा सोही स्थानमा २८ वर्षीया गंगा बुढाको बाघको आक्रमणबाट मृत्यु भएको थियो भने केही महिना पहिले माछा मार्ने क्रममा बाघले आक्रमण गर्दा एक किशोरको पनि मृत्यु भएको थियो ।

सुझावित समाचार