बेइजिङ अन्तर्राष्ट्रिय फोटो प्रदर्शनीमा नेपाल थिम कन्ट्रीका रूपमा

मंगलबार, ११ कार्तिक, २०७७
डिजिटल संस्करण
बेइजिङ अन्तर्राष्ट्रिय फोटो प्रदर्शनीमा नेपाल थिम कन्ट्रीका रूपमा

फाइल तस्बिर

चीनको राजधानी बेइजिङमा आजदेखि सुरु भएकाे १० दिने अन्तर्राष्ट्रिय फोटो प्रदर्शनीमा नेपाललाई विशेष अतिथि राष्ट्र थिम कन्ट्रीका रूपमा प्रस्तुत गरिएको छ । नेपालको प्रतिनिधित्व गरेको साइनो नेपाल मिडिया सोसाइटीले विश्व प्राकृतिक सम्पदा सूचीमा सूचीकृत नेपालका चितवन तथा सगरमाथा राष्ट्रिय निकुञ्जका ५० तस्बिर समावेश गरेको छ ।

चीनको संस्कृति तथा पर्यटन मन्त्रालय र बेइजिङ महानगरपालिका जनसरकारले संयुक्त रूपमा आयोजना गरेको बिआरआई विश्व प्राकृतिक सम्पदा अन्तर्राष्ट्रिय फोटो प्रदर्शनीमा थिम कन्ट्रीका रूपमा नेपाललाई मात्रै छुट्टै स्थान दिई  विशेष प्रदर्शनी कक्ष व्यवस्था गरिएको छ ।

प्रदर्शनीमा राखिएका हरेक तस्बिर तथा नेपालसम्बन्धी जानकारी चिनियाँ र अंग्रेजी भाषामा दिइएको छ । प्राकृतिक सम्पदाका व्यावसायिक फोटाग्राफर नारायण रिजाल, कोमल भागत, आशिष गुरुङ, आङरिता शेर्पा, वेदकुमार ढकाल, सागर गिरी, बाबुराम लामिछानेलगायतका तस्बिर प्रदर्शनीमा समाविष्ट छन् ।

नेपाल सरकारलाई कुनै आर्थिक भार नपर्ने गरी थिम कन्ट्रीका रूपमा नेपाललाई प्रस्तुत गर्न र प्रदर्शनीस्थल निःशुल्क रूपमा उपलब्ध गराउन सहआयोजक चाइना आर्ट फोटोग्राफी सोसाइटी र आफ्नो संस्थाबीच सहमति भएको साइनो नेपाल मिडिया सोसाइटीका अध्यक्ष ध्रुव पौडेलले बताए । 

आगामी दिनमा चीनलगायत विश्वका विभिन्न मुलुकमा आयोजना गरिने अन्तर्राष्ट्रिय फोटो प्रदर्शनीमा नेपालका तस्बिर समावेश गरी पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउन सहकार्य गर्ने विषयमा पनि दुवै सोसाइटीबीच समझदारी रहेको  उनले जानकारी दिए । 

प्रदर्शनीका लागि आवश्यक डिजिटल भर्सनका फोटो वन तथा वातावरण मन्त्रायलबाट निःशुल्क उपलब्ध गराइएको थियो । बेइजिङस्थित नेपाली राजदूतावासको सहयोगमा नेपालको सहभागिताको व्यवस्थापन र खर्च सोसाइटीले नै गरेको हो ।

प्रदर्शनी उद्घाटनमा सहभागी नेपाली राजदूतावासका उपप्रमुख एवं मिनिष्टर सुशीलकुमार लम्सालले प्रदर्शनीलाई नेपाल बुझ्ने झ्यालको संज्ञा दिँदै अवलोकनकर्ताले नेपालबारे धेरै जानकारी लिन सक्ने बताए ।  कोरोना भाइरसको महामारीको अन्त्य भएपछि नेपालको भ्रमण गर्न चिनियाँ नागरिकलाई प्रेरित गर्ने उनले विश्वास व्यक्त गरे । 

चीनको संस्कृति तथा पर्यटन मन्त्रालय, बेइजिङ महानगरपालिकालगायत उच्चपदस्थ सरकारी अधिकारी तथा सञ्चारकर्मी उक्त अवसरमा उपस्थित थिए ।  सोसाइटीले यसअघि सिछुवान प्रान्तस्थित छन्तु, लशान, ह्वाहाई, काञ्च, बेइजिङलगायत सहरमा नेपालका कला, संस्कृति तथा पर्यटनसम्बन्धी एकदेशीय तस्बिर प्रदर्शनी गरिसकेको छ । रासस
 

सुझावित समाचार