हुम्ला चखेली गाउँपालिका-५ नेप्काका स्थानीयवासी इन्टरनेटबाट आफन्तसँग कुरा गर्न रातभर जाग्राममा बस्ने गरेका छन्।
गाउँमा टेलिकम सेवा नहुँदा यहाँका स्थानीयवासी आफन्तसँग कुराकानी गर्न रातभर जागै बस्न बाध्य भएका हुन् ।

जिल्लाभन्दा बाहिर गएका आफन्तसँग कुरा गर्न गाउँमा टेलिफोन सेवा नहुँदा इन्टरनेटबाट कुराकानी गर्दै आएको स्थानीय हर्कधन तामाङले बताए ।
टेलिफोनबाट कुरा गर्न एक दिनभर पैदल गाउँपालिका केन्द्र पुग्नुपर्ने बाध्यता भएको उनले बताए ।
‘वर्ल्डलिकको सेवामा पनि वेलावेला समस्या आइरहन्छ । गाउँमा भएको वर्ल्डलिक सेवा पनि दिउँसो सोलार चार्ज भएपछि मात्रै इन्टरनेट चल्छ,’ अर्का स्थानीय दानबहादुर तामाङले सुनाए ।

‘दिनभर गाउँमा काम हुन्छ । बेलुका समय मिल्छ । कुरा गर्न गयाे, नेट नचलेपछि रातभर जागै बस्नुपर्छ,’ तामाङले भने, ‘लामो समय भयो गाउँमा टेलिफोन सेवा विस्तार हुन्छ भनेको । कुनै नेताहरूको ध्यान गएन ।’
यो गाउँमा टेलिफोन सेवा विस्तारका लागि सम्बन्धित निकायमा धेरैपटक हारगुहार गरेका स्थानीय निराश बनेका छन् ।