छोरीलाई गोली हान्ने बुबा कारागार चलान

शुक्रबार, ७ कार्तिक, २०७७
डिजिटल संस्करण

ओखलढुंगामा आफ्नै छोरीलाई गोली हान्ने एक पुरुष कारागार चलान भएका छन् । भरुवा बन्दुक प्रहार गरेर छोरीलाई गम्भीर घाइते बनाउने मोलुङ गाउँपालिका– ७ पात्लेका ३३ वर्षीय डम्बरबहादुर तामाङ पुर्पक्षका लागि कारगार चलान भएका हुन् ।

ओखलढुंगा जिल्ला अदालतको आदेशमा तामाङलाई कारागार चलान गरिएको जिल्ला प्रहरी प्रमुख रुपेश खड्काले बताए ।  तामाङविरुद्ध हातहतियार खरखजना तथा ज्यान मार्ने उद्योगको मुद्दा चलाइएको थियो ।

तामाङले १३ वर्षीया छोरी फुरीमाया तामाङमाथि असोज १६ गते साँझ भरुवा बन्दुक प्रहार गरेका थिए । बन्दुकको छर्रा लागेर फुरीमाया गम्भीर घाइते भएकी थिइन् । प्रहरीले आरोपित तामाङलाई असोज १७ गते पक्राउ गरेको थियो । 

बालिकाको दाहिने खुट्टाको घुँडाभन्दामाथि बन्दुकको छर्रा लागेको छ ।  घाइते बालिकाको उपचार भइरहेको छ । के कारणले छोरीलाई गोली हानेको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

See More On

सुझावित समाचार