प्रधानमन्त्री ओली र ‘रअ’का प्रमुख गोयलबीच भेट भएकाे पुष्टि

बिहिबार, ६ कार्तिक, २०७७
डिजिटल संस्करण

छिमेकी भारतसँग कूटनीतिक र राजनीतिक वार्ता गर्नुको सट्टा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँग वार्ता गरेका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले गोयलले  प्रधानमन्त्री ओलीसँग भेट गरेको पुष्टि गरेका छन् । 

‘भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ ‘रअ’का प्रमुख  सामन्तकुमार गोयलले  सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुभएको छ । उहाँ  भेटका लागि बुधबार बेलुका प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटार आउनुभएको थियो । भेटका क्रममा उहाँले नेपाल-भारतबीचको  मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने विषयमा आफ्नो धारणा राख्नुभयो,’ थापाले बिहीबार जारी गरेको प्रेस नोटमा उल्लेख छ । 

तर, प्रेस सल्लाहकार थापाको प्रेस नोटमा गोयलसँगको वार्तामा प्रधानमन्त्री ओलीले राखेको विषयवबस्तुबारे केही उल्लेख छैन । 

भारतको गुप्तचर संस्था ‘रअ’का प्रमुख गोयल र अर्का अधिकारी अरुण जैनसहित नौजनाको टोली बुधबार काठमाडौं आएको थियो । सरकारले भारतीय गुप्तचर प्रमुखलाई स्वागत गरेकोमा चौतर्फी आलोचना भएको छ । 

प्रेस नोट भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले सम्माननीय प्रधानमन्त्री...

Posted by Prime Minister's Press Advisor on Thursday, October 22, 2020

गोयलको भ्रमण र भेटलाई लिएर कूटनीतिज्ञले भनेका छन्, ‘गुप्तचरका मुखिया एयरफोर्सको जहाज चढेर नेपालका प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीलाई भेट्न आएका छन्, देश कूटनीतिक रूपमा धराशायी भएको अवस्था हो । राष्ट्रवादी र देशभक्त नागरिकका लागि योभन्दा लज्जाको विषय केही हुन सक्दैन, देशको शिर झुकेको छ ।’

उता पूर्व प्रधानमन्त्रीद्वय एवं नेकपा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो रअ प्रमुख गोयलसँग भेट नभएको प्रस्ट पारेका छन् ।

प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सचिवालयले पनि भारतीय गुप्तचर संस्था रअ का प्रमुख सामन्तकुमार गोयलसँग देउवाको भेटवार्ता नभएको बताएको छ ।

गोयल बिहीबार बिहान सवा १० बजे नयाँदिल्ली फर्किएका छन् । 

याे पनि पढ्नुहाेस् 

‘रअ’का हाकिमसामु राष्ट्रवादको हरिबिजोग

सुझावित समाचार