एक सय किलो अवैध गाँजासहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
सिराहाको मिर्चैया नगरपालिका– १ मनहर्वामा कमला नहर हुँदै जाँदै गरेको ट्याक्टरलाई आइतबार राति चेकजाँचको क्रममा एक सय किलो अवैध गाँजासहित दुईजनालाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय मिर्चैयाको प्रहरी टोलीले अवैध गाँजा लिएर जाँदै गरेको सूचनाका आधारमा ना.५त १४ नम्बरको ट्याक्टरलाई चेकजाँच गरेको थियो ।
ट्याक्टरमा प्लास्टिकमा प्याक गरेको तीनवटा ठूलो पोका र दुईवटा सानो पोकामा गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक (डिएसपी) सन्तुलाल जैसवालले बताए ।
प्रहरीले गाँजासँगै ट्याक्टरचालक मिर्चैया नगरपालिका– १ का १९ वर्षीय सुन्दर कापर र २६ वर्षीय जितेन्द्र महतोलाई पक्राउ गरेको छ ।
पक्राउ गरिएका दुवैजनालाई इलाका प्रहरी कार्यालय मिर्चैयामा राखेर थप अनुसन्धान थालिएको डिएसपी जैसवालले बताए ।