गुनासो सुनुवाइ गर्न सुझाब पेटिका वितरण

शनिबार, १ कार्तिक, २०७७
डिजिटल संस्करण

धनकुटाको चौबिसे गाउँपालिकाले सेवा प्रवाहसम्बन्धी जनताको गुनासो सुनुवाइ गर्न सुझाब पेटिका वितरण गरेको छ ।

गाउँपालिका र न्यायिक समितिले सम्पादन गरेका कामको विषयमा गाउँपालिकावासीको कुनै गुनासोहरू भए सुझाब दिनका लागि नागरिकहरूलाई सहजता पुऱ्याउने उद्देश्यले सबै वडामा सुझाब पेटिका वितरण गरिएको गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले बताए । 

उनले भने, ‘भौगोलिक विकटताका कारण कतिपय नागरिकको गाउँपालिका वडा न्यायिक समितिसम्म पुगेर आफ्नो गुनासो पोख्ने पहुँच नहुन सक्छ । जनताले आफूलाई लागेको गुनासो वा सुझाब भए सम्बन्धित वडामा राखिएको सुझाब पेटिकामार्फत पठाउन सक्नुहुन्छ।’

जनताबाट आएको सल्लाह, सुझाबको आधारमा आगामी दिनमा गाउँपालिकालाई नीति तथा कार्यक्रमहरू तय गर्न मद्दत पुग्ने अपेक्षा गाउँपालिकाले गरेको छ । 

यसैबीच अविरल वर्षाका कारण बाढी पहिरोबाट क्षति भएको सोही गाउँपालिकाको वडा नं. ७ र ८ मा अठार सय खानेपानी र आमडाँडा खानेपानी उपभोक्ता समितिहरूलाई ६ सय मिटर खानेपानीको पाइप पनि वितरण गरिएको छ । 

गाउँपालिकाको चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार चौबिसे गाउँपालिकाको ८ वटै वडामा विद्युतलाइनको पहुँचभन्दा बाहिर रहेका अति विपन्न एक सय घरधुरी परिवारलाई सोलार सेट वितरण गरिएको छ । 

त्यस्तै विद्युतलाइन पुगेर पनि मिटरबक्स किन्न नसकेका ८० घरधुरीलाई ८० वटा मिटरबक्स, गुणस्तरीय शिक्षा सुधार तथा नियमित अनुगमनको लागि ११ वटा आधारभूत तथा माध्यमिक विद्यालयलाई सिसी क्यामेरा वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

रमाइलो कक्षा सञ्चालनका लागि गाउँपालिकाका सबै विद्यालयका केजी र बाल कक्षाहरूलाई एलइडी टिभी ४७ थान र कक्षा– ६ देखि १२ कक्षासम्मका छात्राहरूका लागि १३ हजार पाँच सय प्याकेट स्यानिटरी प्याड वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष यज्ञकुमारी रुचालले बताइन् ।

सो गाउँपालिकाले पढाइको गुणस्तर सुधार गर्न दुई वर्ष अगाडिदेखि नै गाउँपालिकाको पुण्य मावि राजारानीमा अध्यायनरत साइन्स र होटेल म्यानेजमेन्टमा अध्यायनरत छात्रछात्रारूलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ ।
 

See More On

सुझावित समाचार