नेकपा कर्णाली विवाद : सामूहिक छलफलका लागि काठमाडौं बोलाइएका प्रदेशका नेताहरू छुट्टाछुट्टै ब्रिफिङमा, कँडेलले ब्रिफिङ गरे प्रचण्डलाई

शुक्रबार, ३० असोज, २०७७
डिजिटल संस्करण

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको कर्णाली प्रदेशमा देखापरेको आन्तरिक द्वन्द्व समाधानका लागि सामूहिक छलफल गर्ने भनी काठमाडौं बोलाइएका प्रदेशका नेताहरूले बेग्लाबेग्लै रूपमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ब्रिफिङ गरेका छन् । 

शुक्रबार खुमलटार पुगेर कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव राख्न मुख्य नेतृत्व गरेका यामलाल कँडेल तथा गुलावजंग शाहले भेटेका छन् । 

यस भेटमा नेकपाका कर्णाली प्रदेशका सचिव मायाप्रसाद शर्मा पनि सहभागी थिए । उनीहरूले दाहाललाई अविश्वास प्रस्ताव राख्नुको कारणबारे ब्रिफिङ गरेको स्रोतले जनाएको छ । 

उनीहरूले दाहाललाई मुख्यमन्त्री शाहीको निरंकुश कार्यशैली रहेको, विभेदकारी व्यवहार गर्ने गरेकोलगायतका कारण अविश्वासको प्रस्ताव राख्नुपरेको जनाएका थिए । 

उनीहरूले यसबारेमा पटकपटक सचेत गराउँदा र सुझाब दिँदा पनि शाहीले नमानेको तथा पार्टीलाई बाइपास गरेकाले बाध्य भएर यस कदममा अघि बढेको जनाएको स्रोतले जनाएको छ । 

यसअघि हिजो बिहीबार मुख्यमन्त्री शाही र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर नेताहरूले दाहाललाई खुमलटार पुगेर आफ्नो पक्षका धारणा ब्रिफिङ गरेका थिए । 

उनीहरूलाई यही २९ असोजमा सामूहिक छलफल गर्ने गरी काठमाडौं बोलाइएको थियो । नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले विवादलाई हाल यथास्थानमा राखेर थप छलफलका लागि राजधानी काठमाडौं बोलाएका थिए । 

संयुक्त छलफल गर्ने भनेर बोलाइएको भए पनि प्रधानमन्त्री ओलीको व्यस्तताका कारण छलफल हुन नसकेको जनाइएको छ । 

आज शुक्रबार छलफल गर्ने तय भएको भए पनि अहिलेसम्म छलफल हुन सकेको छैन । 

सुझावित समाचार