तातोपानीमा ‘बिओपी’ स्थापना

बिहिबार, २९ असोज, २०७७
डिजिटल संस्करण

चीन जोड्ने उत्तरी सिन्धुपाल्चोकको नाका तातोपानीमा बुधबारदेखि सशस्त्र प्रहरी बलको ‘बिओपी’ स्थापना गरिएको छ । गत असार २९ को मन्त्रिपरिषद्को निर्णयअनुसार बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दीप श्रेष्ठको उपस्थितिमा भोटेकोसी गाउँपालिका– २ तातोपानीमा ‘बोर्डर आउट पोस्ट’ स्थापना गरिएको हो ।
 
बिओपीका लागि तत्कालीन सीमास्थित सशस्त्र प्रहरी बल २२ नं. गुल्म हेडक्वार्टर (राजस्व–भन्सार गस्ती सुरक्षा)को एक ब्यारेक, शौचालय, भवन प्रयोगमा ल्याइएको छ । तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयछेउमा राखिएको बिओपीले सीमा सुरक्षामा गस्ती गर्नेछ ।

बुधबार नायब महानिरीक्षक श्रेष्ठसँगै सशस्त्र प्रहरी उपरीक्षक अर्जुन खत्री, नेपाली सेना झिर्पु सुरक्षा गुल्मपति सेनानी ईश्वर गिरी, सीमा प्रहरी चौकी कोदारी प्रहरी निरीक्षक नवराज सापकोटासहित उच्च सुरक्षा अधिकारीको उपस्थिति थियो ।

सशस्त्र प्रहरी तातोपानी ‘बिओपी’ सशस्त्र प्रहरी निरीक्षक केशवकुमार श्रेष्ठका अनुसार सीमा सुरक्षासम्बन्धी महत्वपूर्ण जिम्मेवारी पाएको बिओपी दैवी प्रकोप उद्धारकार्यमा खट्नेछ । रासस
 

सुझावित समाचार