हुन त सामान्य मानिसको पनि प्रायः दुई–तीनवटा नाम हुने गरेको पाइन्छ । घरमा बोलाउने नाम एउटा, साथीहरूले राखिदिएको अर्को, वास्तविक नाम त भइहाल्यो । तर, सेलेब्रिटीहरूले नाम फेरेको विषय भने सधैैँ चर्चा–परिचर्चा हुने गर्छ । यहाँ नाम फेरेर चर्चित बनेका केही बलिउड कलाकारको चर्चा गरिनेछ ।
बलिउड अभिनेता अक्षय कुमारको असली नाम राजीव हरिओक भाटिया हो भने टाइगर श्राफको नाम हेमन्त श्राफ हो । यस्तै सुपरस्टार रजनीकान्तको नाम पहिला शिवाजी राव गायकवाड थियो ।
अभिनेतामा मात्र होइन, अभिनेत्रीहरूले पनि बलिउडमा प्रवेश गर्नुपूर्व आफ्नो नाम बदलेका थिए । अभिनेत्री कियरा आडवाणी बलिउडमा प्रवेश गरेको धेरै समय भएको छैन । थोरै समयमै उनी बलिउडमा स्थापित भइसकेकी छिन । उनले पनि बलिउड प्रवेश गर्नुअघि नाम फेरेकी थिइन । एकपटक उनले सलमान खानको सल्लाहअनुसार नाम बदलेको बताएकी थिइन् । उनको असली नाम आलिया आडवाणी हो । उनी चलचित्रमा डेब्यु गर्ने वेलामा आलिया भट्ट स्थापित बनिसकेकी थिइन् । यहीकारण पनि कियराले नाम परिवर्तन गरेकी हुन् ।
अर्की अभिनेत्री कटरिना कैफको पनि असली नाम कटरिना टरकोटे हो । टरकोटेचाहिँ कटरिनाको आमाको थर हो । पिता भने मोहम्मद कैफ हुन् । कटरिना सानै हुँदा उनका आमाबुबा अलग भएका थिए ।
सदावहार अभिनेत्री रेखाको असली नाम पनि भानुरेखा गणेशमान हो । चलचित्रमा आएपछि उनले आफ्नो नाम रेखा मात्र राखिन् र यही नामले उनलाई प्रसिद्धि पनि दिलायो । अभिनेत्री शिल्पा सेट्ठीको नाम पनि आश्विनी सेट्ठी थियो । पछि उनकी आमालाई एक ज्योतिषले सल्लाह दिएपछि उनको नाम शिल्पा रह्यो ।
पुरानी अभिनेत्री मधुबालाको बुबाको नाम अताउल्लाह र आमाको नाम आयशा बेगम थियो । बुबाले उनको नाम मुमताज जेहान देहलवी राखिदिएका थिए । सन् १९४२ मा मुमताजको पहिलो चलचित्र आयो ‘वसन्त’ । यस चलचित्रमा उनको अभिनय देखेर त्यस समयको चर्चित अभिनेत्री देविका रानीले उनाई नाम फेर्न सल्लाह दिइन् । यसपछि उनको नाम मधुबाला रह्यो ।
अभिनेत्री सन्नी लियोनीको नाम पनि करणजित कौर बोहरा हो । जब उनले एडल्ट सिनेमामा काम गर्न थालिन्, त्यहाँ नाम परिवर्तन गर्नुपर्ने भयो । एकपटक उनले लियोनी थरबारे भनेकी थिइन् कि जुन तरिकाले पुरुषको थरमा सिंह हुन्छ, त्यही तरिकाले लायनबाट लियोनी बनाएको हो । अभिनेत्री श्रीदेवीको नाम पनि अम्मा यंगर अयप्पन थियो । पछि चलचित्रमा आएपछि उनकी आमाले उनको नाम फेरिदिएकी थिइन् ।