चालीस हजार नतिरेको भन्दै विराट अस्पतालले दलित बालकको शव दिएन

बुधबार, २८ असोज, २०७७
डिजिटल संस्करण

विराटनगरस्थित विराट अस्पतालले चालीस हजार रुपैयाँ तिर्न नसक्दा उपचारका क्रममा मृत्यु भएका दुई वर्षीय दलित बालकको शव आफन्तलाई दिन इन्कार गरेको छ ।

अप्रेसनको क्रममा २६ असोजमा मृत्यु भएका सिराहाको सिराहा नगरपालिका– ४ मानपुरका दुई वर्षीय बालक सिद्धार्थ सदा (मुसहर) को शव अस्पतालले दिन इन्कार गरेको हो ।

अस्पतालले शव दिन इन्कार गरेपछि बालकका आफन्तहरू अस्पतालमै रुवाबासी गरेर धर्ना बसेका छन् । बालककी आमा सुनिता सदाका अनुसार उपचारका क्रममा ऋण खोजेर ल्याएको एक लाख रुपैयाँ खर्च भइसकेको छ ।

थप ऋण खोज्न सक्ने अवस्था नभएकोले दाहसंस्कारका लागि शव लैजान अस्पतालमा रोएर बस्नुपरेको उनले बताइन् । उनका अनुसार अस्पतालको चालीस हजार र औषधिबापत फार्मेसीको ६० हजार तिर्न बाँकी छ ।

पेटको ठूलो आन्द्रामा समस्या भएर उनलाई उपचारका लागि विराट अस्पतालमा भर्ना गरिएको थियो । दुईपटक अप्रेसन गर्दा पनि सफल नभएको बालककी हजुरआमा कलावती सदाले बताइन् ।

‘पैसा खोजेर ल्याउने हाम्रो कुनै उपाय छैन,’ उनले भनिन्, ‘नातिको शव नदिएसम्म हामी अस्पतालमै बसिरहन्छौँ ।’

गरिब भूमिहीन सदा परिवारले चालीस हजार रुपैयाँ पछि तिर्ने गरी बालकको शव दिन अस्पताल प्रशासनसँग हारगुहार गरेको थियो । तर, अस्पतालले पैसा दिए मात्र शव दिने अडान लिएको बालकका हजुरबुबा रामकुमार सदाले बताए । मृतक बालकका बाबु सुनिल सदाको गत वर्ष सवारी दुर्घटनामा मृत्यु भएको थियो ।

यसैले घरमा कमाउने पनि कोही नभएकोले बालबच्चा हुर्काउन समस्या भएको आमा सुनिता बताउँछिन् । कमाउने मान्छे र जग्गाजमिन केही नभएकाले उनीहरू पैसा जुटाउन सक्ने अवस्थामा छैनन् ।

See More On

सुझावित समाचार