डिडिसीको गोदाममा २ लाख किलो म्याद गुज्रिएको बटर

बुधबार, २८ असोज, २०७७
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाको अनुगमन टोलीले मंगलबार बालाजुस्थित सरकार स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) को उत्पादन कारखानामा अनुगमन गर्दा १ लाख ९४ हजार ९ सय ७५ किलो मिति सकिएको बटर बरामद गरेको छ ।

महानगरपालिकाको अनुगमन समितिका संयोजक हरिबहादुर भण्डारीका अनुसार चारवटा गोदाममा रहेको बटर निरीक्षण गर्दा अधिकांश मिति सकिएको फेला परेको थियो । ‘चारवटै गोदाममा रहेको सबै बटर मिति सकिएको भन्ने हाम्रो बुझाइ छ, तर संस्थानका कर्मचारीहरू उपभोग्य मिति भएको बटरसमेत गोदाममा रहेको दाबी गरिरहेका छन्,’ उनले भने ।

एक वर्षअघिको उत्पादन मिति उल्लेख भएको बटर गोदाममा भेटिएको उनले बताए । मिति सकिएको र उपभोग्य मिति भएको खाद्य वस्तु अलग–अलग स्थानमा राखिने गरिन्छ । तर, संस्थानका कर्मचारीले दुवै प्रकृतिका बटर एउटै गोदाममा रहेको दाबी गर्नु शंकास्पद रहेको अनुगमन टोलीमा रहेका उपभोक्ताकर्मी माधव तिमिल्सिनाले बताए । 

अहिले बजारमा बटरको मूल्य प्रतिकिलो ८ सय ५० रुपैयाँ छ । यो हिसाबले डिडिसीको गोदाममा मिति सकिएको अवस्थामा १६ करोड ५७ लाख रुपैयाँको बटर मौज्दात रहेको देखिन्छ । गोदाममा राखिएको बटर कार्टुनमा प्याक भएको अवस्थामा भेटिएको छ ।

‘कार्टुनमा प्याक गरेर राख्नु भनेको बजार पठाउने उद्देश्य राख्नु हो, यस्तो मिति सकिएको बटर बजार पठाउँदा उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने कुरामा सरकारी कम्पनी नै उदासीन देखिएको छ,’ तिमिल्सिनाले भने ।
 

See More On

सुझावित समाचार