कर्णालीमा नेकपा विवाद : नेपाल पक्षधर र मुख्यमन्त्री पक्षधरबीच छलफल तीव्र

मंगलबार, २७ असोज, २०७७
डिजिटल संस्करण

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध बहुमत सांसदले अविश्वासको प्रस्ताव ल्याएपछि पेचिलो बन्दै गएको विवाद समाधान गर्न सोमबारदेखि मुख्यमन्त्री शाही र माधवकुमार नेपाल पक्षका नेताहरूबीच छलफल तीव्र भएको छ । 

नेपाल पक्षका नेता विवाद हल गर्न केन्द्रीय सदस्य नीरज आचार्य कर्णालीमा आइपुगेका छन् । 

सोमबार बेलुकादेखि मुख्यमन्त्री शाही, केन्द्रीय सदस्य आचार्य र कर्णाली प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाबीच सकारात्मक छलफल भएको तर निष्कर्षमा पुगिनसेको मुख्यमन्त्री शाही पक्षधर एक सांसदले बताए । 

‘निष्कर्षमा पुग्न बाँकी छ,’ उनले भने, ‘छलफल सकारात्मक रूपमा अगाडि बढेको छ ।’

सोमबार बेलुकादेखि मुख्यमन्त्री शाही, केन्द्रीय सदस्य आचार्य र कर्णाली प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री ज्वालाबीच छलफल भएको र आज दिउँसो पनि थप छलफल हुने स्रोतले जानकारी दिएको छ । 

मुख्यमन्त्रीइतरले बोलाएको संसदीय दलको बैठकमा पनि नेपाल पक्षका सांसद सहभागी नहुने नेपाल पक्षका एक प्रदेश सभा सदस्यले जानकारी दिए । 

नेपाल पक्षका सांसद सहभागी नभए पनि आजको संसदीय दलको बैठक जारी हुने मुख्यमन्त्रीइतरका एक प्रदेश सभा सदस्यले जानकारी दिए । 

नेपाल पक्षका दुत बनेर आएका आचार्य दौडधुपमा 
वीरेन्द्रनगर । कर्णाली प्रदेशमा सुरु भएको नेकपाको विवाद मिलाउनका लागि नेता माधवकुमार नेपालको दुत बनेर आएका केन्द्रीय सदस्य निरज आचार्य सोमबार बेलुकादेखि नै दौडधुपमा व्यस्त रहेका छन् । 

सुर्खेत आए लगत्तै नेपाल पक्षका नेता तथा कर्णाली प्रदेश प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालालाई भेटेका आचार्यले त्यसपछि ज्वालासँगै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई भेट गरेका थिए । 

मुख्यमन्त्री बिरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने नेपाल पक्षका सांसदहरुलाई पनि सोमबार बेलुका भेट गरेको स्रोतले जानकारी दिएको छ । 

आचार्यले प्रदेशका शीर्ष नेता र  सांसदहरुसँग छलफल चलाएको सांसद गोपाल शर्माले जानकारी दिए ।

‘सोमबारदेखि नै वहाँले यहाँका सबै नेताहरुलाई भेट गर्नु भएको छ ।’ उनले भने,‘मंगलबार बिहानैदेखि नै उहाँ भेटाघाटमा पुन व्यस्त रहनुभएको छ ।’

आचार्यले नेता माधवकुमार नेपाललाई कर्णालीको पछिल्लो गतिबिधिका बिषयमा पनि जानकारी दिइरहेको एक सांसदले जानकारी दिए ।

‘उहाँले सके यही विवाद मिलाउने नभएर यहाँको विवादका बिषयमा केन्द्रलाई जानकारी दिनुहुनेछ ।’ उनले भने, ‘विवाद मिलाउनका लागि हरेक उपायका बिषयमा खोजी भइरहेको छ ।’
 

सुझावित समाचार