रुग्ण आयोजनाबाट हर्जना नलिन आयोगको निर्देशन

मंगलबार, २७ असोज, २०७७
डिजिटल संस्करण

कुल १० मेगावाट वा सोभन्दा कम क्षमताका आयोजनालाई कुनै पनि हर्जना नलिन  विद्युत् नियमन आयोगले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ ।

आयोगले सोमबार प्राधिकरणलाई एक निर्देशनात्मक पत्र लेख्दै रुग्ण अवस्थामा रहेका र १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनालाई हर्जना नलिन प्राधिकरणलाई निर्देशन दिएको हो । ‘विद्युत् खरिद बिक्री तथा अनुमतिप्राप्त कम्पनीले पालना गर्नुपर्ने सर्तसम्बन्धी विनियमावली, २०७६’ अनुसार  भएको व्यवस्थाको कार्यान्वयन नभएको उल्लेख गर्दै ध्यानाकर्षण गराएको हो । आयोगले प्राधिकरणलाई विनियमावलीमा भएको व्यवस्थाको वस्तुनिष्ठ कार्यान्वयन गर्न भनेको छ ।

आयोगले निर्देशन जारी भएको मितिदेखि हालसम्म प्राधिकरणले रुग्ण घोषित गरेका नदी प्रवाही र अर्थजलाशय आयोजनाबाट हर्जना लिएको भएमा प्रवर्द्धकलाई आगामी महिना पाउने बिलमा मिलान गर्नसमेत निर्देशन दिएको सचिव नूतनप्रकाश शर्माले जानकारी दिए । 

यस्तै प्रकोपले उत्पन्न भएको परिस्थितिका कारण प्रसारण लाइन वा सबस्टेसनमा क्षति पुग्न गई प्राधिकरणले विद्युत् खरिद गर्न नसकेको अवस्थामा पनि निजी ऊर्जा उत्पादकले क्षतिपूर्ति माग गर्न नपाउने पत्रमा उल्लेख गरिएको छ । कुल ७१ मेगावाट क्षमताका २० जलविद्युत् आयोजना विभिन्न कारणले रुग्ण बनेको भन्दै प्रवर्द्धकले सरकारसँग राहत माग गर्दै आएका छन् । उनीहरूले उत्पादित विद्युतले खर्च धान्नसमेत नसकेको दाबी गर्दै आएका छन् ।

फिडर मर्मतका लागि राजधानीका विभिन्न स्थानमा विद्युत् काटिने

नेपाल विद्युत् प्राधिकरणले वितरण फिडर मर्मत गर्ने प्रयोजनका लागि आज बिहान राजधानीका विभिन्न स्थानमा विद्युत् काट्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी लीला अर्यालका अनुसार रत्नपार्क वितरण केन्द्रको टेकु फिडरअन्तर्गतका झन्डै डेढ दर्जनबराबरका स्थानमा आज बिहान ६:३० बजेदेखि १० बजेसम्म विद्युत् काटिन लागेको हो ।

प्राधिरकणका अनुसार टेकु सबस्टेसनअगाडिबाट पचली भैरव, नेपाल उद्योग वाणिज्य महासंघ, टेकुचोक, त्रिपुरेश्वर चोक नपुग्दै भाटभटनी सुपरमार्केट अगाडिसम्म विद्युत् काटिनेछ । यस्तै टेकु वंशीमार्फत सुकुम्बासी टोल जाने बाटोसम्म, कालिमाटी फिडरअन्तर्गत पर्ने टेकु नेसनल ट्रेडिङ हुँदै हनुमन्त भीसेनस्थान, परोपरकार, रामघाट, शान्ति निकेतन स्कुल, मरुहिटी, ढोकाटोल, नरदेवी अस्पताल अगाडिसम्म विद्युत् काटिनेछ ।

यस्तै क्षेत्रपाटीचोक, जैशीदेवल, ज्यावबहाल, चिकमुगङ्ल, भीमसेनस्थान  फिडरअन्तर्गत अन्डरग्राउन्ड हुँदै टेकु नेसनल ट्रेडिङको बाहिरपट्टि काठमाडौं बिजनेसपार्क हुँदै १२ नं वडा कार्यालय, ब्रह्मटोल, जैशीटेवल चोक, ज्यावहाललगायतका स्थानमा विद्युत् कटौती हुने भएको छ । प्राधिकरणले तोकिएको समयअगावै तोकिएको कार्य सकिएको खण्डमा विद्युत् पुनः सञ्चालनमा आउन सक्ने सूचना अधिकृत अर्यालले जानकारी दिए । रासस

सुझावित समाचार