नक्कली सुकुम्बासी समिति गठन गरी ठगी गर्ने आठ पक्राउ

सोमबार, २६ असोज, २०७७
डिजिटल संस्करण

पोखरामा अव्यवस्थित बसोवासीलाई ठग्ने गिरोहका आठजनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । सुकुम्बासीहरूलाई जग्गाको स्वामित्व दिने प्रलोभन देखाएर आर्थिक संकलन गरी ठगी गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । अव्यवस्थित सुकुम्बासी समस्या समाधान आयोगको नाममा किर्ते कागज गरी एक लाख ६१ हजार रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरिएको कास्की प्रहरी प्रमुख, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

उनीहरूको साथबाट प्रहरीले बैठकको माइन्युट, नगदी रसिद र आर्थिक संकलन गरेको अर्धकट्टीसमेत बरामद गरेको छ । नक्कली कार्यसमितिका प्रमुख हिराबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ । सुकुम्बासी समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवालीको समेत हस्ताक्षर किर्ते गरी नक्कली कागजात बनाएको प्रहरीले जानकारी दिएको छ । 

पोखरा महानगरपालिकाको वडा नम्बर १४ भोटेचौतारामा रहेको तीन सय रोपनी जग्गामा एक सय ६० घरपरिवारलाई जग्गा उपलब्ध गराउने भन्दै नक्कली समितिले पत्राचार गरेको थियो । लेटरप्याडमा अव्यवस्थित सुकुम्बासी समस्या समाधान आयोग काठमाडौं, स्थापित २०६८ लेखेको पाइएको छ ।  उनीहरूविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले ठगी मुद्दा चलाउने तयारी गरेको छ । थप अनुसन्धानको क्रममा रहेको प्रहरी प्रमुख श्रेष्ठले बताए । 

स्थानीयका अनुसार सुकुम्बासी परिवारबाट प्रतिपरिवार सात हजारका दरले आर्थिक संकलन गरेका छन् । भोटे चौताराकी पीडित महिला लज्जावती दुराले आफूले सात हजारु रुपैयाँ दिएको रसिद देखाउँदै नयाँ पत्रिकासँग  भनिन्, ‘हामीलाई माथिबाटै निर्देशन आएको भनेर पत्र देखाए । होला भनेर पैसा दिएको ठग रहेछन् ।’ 

केहीलाई रसिद दिइएको र केहीलाई रसिद पनि नदिई पैसा लगेको उनले जानकारी दिइन् ।  पक्राउ परेको सुन्दा बल्ल आफूहरू ठगिएको थाहा पाएको उनले बताइन् । पक्राउ परेकाहरूलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ (१) बमोजिम नियन्त्रणमा लिएर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ ठगी, आपराधिक विश्वासघात तथा लाभसम्बन्धी कसुरअन्तर्गत दफा २४९ बमोजिम मुद्दा दर्ता गरेर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

सुझावित समाचार