रुकुम पश्चिमको मुसिकोट नगरपालिका– ९ मल्गिनीमा डोजर पल्टिँदा एकजनाको मृत्यु भएको छ । झुल्खेत–हिल सडकखण्ड सफा गर्ने क्रममा आइतबार बेलुका जेसिबी डोजर पल्टिँदा च्यापिएर मल्गिनीका ३७ वर्षीय दीपेन्द्र ओलीको मृत्यु भएको हो ।
तेजकुमार बोहराले सहायक ठेकेदार कमल बुढालाई भाडामा दिएको रा.१क ११३७ नम्बरको डोजर पल्टिँदा ओलीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरि ओलीले जानकारी दिए ।
बाटो सफा गर्ने क्रममा डोजर ४० फिट तल खसेको र घरमाथिको बारीमा रहेका ओलीलाई च्यापेको प्रहरीको भनाइ छ । चालक दीपक ओली फरार रहेको र उनको खोजी भइरहेको प्रहरी निरीक्षक ओलीले बताए । ओलीको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।