एनएमबि बैंक र चिनियाँ कम्पनी टेन्सेन्ट होल्डिंग्सबीच सम्झौता

सोमबार, २५ असोज, २०७७
डिजिटल संस्करण

एनएमबि बैंकले चिनियाँ कम्पनी टेन्सेन्ट होल्डिंग्स लिमिटेडसँग सम्झौता गरेको छ । उक्त कम्पनीको विच्याट भुक्तानी प्रणालीमार्फत नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकले सहज रूपमा नेपालमा खरिद गरेका वस्तु तथा सेवाको भुक्तानी गर्न सक्ने व्यवस्था गर्ने उद्देश्यले बैंकले सम्झौता गरेको हो । 

एनएमबि बैंक विच्याट भुक्तानी सेवा प्रदान गर्ने  नेपालको पहिलो र एक मात्र बैंक रहेको दाबी गरिएको छ । टेन्सेन्टसँगको साझेदारीबाट एनएमबि बैंक नेपालमा विच्याट भुक्तानी सेवा प्रदान गर्ने उक्त संस्थाको आधिकारिक साझेदार बन्ने जनाइएको छ ।

१ अर्ब १७ करोडभन्दा बढी सक्रिय मासिक प्रयोगकर्ता रहेको संसारकै सबैभन्दा प्रभावकारी भुक्तानी प्रणाली सेवामध्ये एक विच्याट भुक्तानी प्रणाली सञ्चालनका लागि टेन्सेन्टसँग प्रत्यक्ष साझेदारी गर्ने नेपालको पहिलो बैंक हुन पाउँदा गौरवान्वित महसुस गरेको बैंकको भनाइ छ । 

चिनियाँ पर्यटकलाई यस बैंकले उनीहरूले सबैभन्दा मन पराएको भुक्तानी प्रणाली विच्याटको सुविधा प्रदान गर्न सक्षम हुनाले उनीहरूले सामना गरेको मुद्रा विनिमयको समस्यालाई सहज बनाउने बैंकले जनाएको छ ।

साथै, चिनियाँ पर्यटकले नेपालमा वस्तु तथा सेवामा गर्ने खर्चलाई बढाउन र नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकको संख्या वृद्धि गर्नसमेत मद्दत गर्ने बैंकले विश्वास व्यक्त गरेको छ । यसबाट देशको विदेशी मुद्राको सञ्चिति बढाउनसमेत सहयोग पुग्ने जनाइएको छ । 

बैंकले किया गाडी किन्न २४ घन्टाभित्रै कर्जा दिने
एनएमबि बैंक लिमिटेड र नेपालमा किया अटोमोबाइलको एक मात्र वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजिङबीच कर्जा लगानी सम्झौता भएको छ । किया गाडी खरिद गर्नका लागि बैंकले २४ घन्टाभित्रमै कर्जा लगानी गर्ने सम्झौता भएको हो । 

सम्झौतामा बैंकका प्रमुख व्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय र कन्टिनेन्टल ट्रेडिङका निर्देशक आशिष पौड्यालले हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार एनएमबि बैंकले कन्टिनेन्टल ट्रेडिङ एन्टरप्राइजेजद्वारा रेफर गरिएको एनएमबि अटो लोन सुलभ ब्याजदरमा २४ घन्टाभित्र प्रवाह गर्ने सुनिश्चितता ग्राहकहरूलाई प्रदान गर्ने जनाइएको हो । दुवै संगठनले संयुक्त रूपमा साझेदारीलाई बढावा दिने र ग्राहकसँगको अन्तक्र्रियाले ब्रान्ड भ्यालु तथा ग्राहकको अनुभव बढाउन सुनिश्चितता गर्ने दाबी गरिएको छ ।

किया मोटर्स लगातार स्थिर रूपमा दक्षिण कोरियाबाट आयातीत एक सर्वोत्कृष्ट अटोमोबाइल ब्रान्डका रूपमा रहेको र कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले एक दशकभन्दा बढी समयदेखि आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ । 

सुझावित समाचार