महामारीबाट हताहती कम गर्ने रणनीति

समुदायमा पर्याप्त मात्रामा आइसोलेसनका शय्याहरूको व्यवस्था गर्दा समग्रमा हताहती धेरै घटाउन सकिनेछ

सोमबार, २६ असोज, २०७७
डिजिटल संस्करण

काठमाडौंमा हाल कोरोना भाइरसका बिरामीका लागि सघन उपचार कक्षका शय्या र भेन्टिलेटरको चरम अभाव हुन थालेको छ । सघन उपचार क्षमता वा भेन्टिलेटर उपचार क्षमता केही समयअघि संसद्को एक समितिले निर्देशन दिएजस्तो सजिलोसँग रातारात बढाउन सकिने होइन ।

चाहिने शय्याहरू, अत्याधुनिक उपकरण, उचित भवन र कक्षहरू र त्यसको जोहो गर्न चाहिने पैसा पनि जुटाउन सकिएला, तर मुख्य समस्या यस्तो जटिल उपचारलाई चाहिने अत्यन्त कुशल र विशिष्टीकृत तालिम प्राप्त स्वास्थ्यकर्मीका टोलीहरू रातारात तयार हुँदैनन्, न तिनको कामलाई नियमित र सही ढंगले निर्देशित गर्ने प्रक्रियागत प्रोटोकल र प्रणालीको स्थापना नै रातारात गर्न सकिन्छ । त्यसैले यो हाम्रो देशले विगत दशकौँदेखि नभोगेको गम्भीर चुनौती बन्ने देखिन्छ ।

सरकार र स्वास्थ्य मन्त्रालयको भित्र वा आसपासमा रहेका विज्ञहरूमा महामारीमा सघन उपचार कक्ष र भेन्टिलेटरको मागलाई कसरी सम्बोधन गर्ने भन्नेबारे आधारभूत ‘बिग पिक्चर’ बुझाइमै समस्या रहेको जस्तो लागेकाले यहाँ आफ्ना केही विचार राख्छु । यो जटिल समस्याका धेरै पाटा छन्, तर छलफलमा ओझेलमा परेका देखिएका मुख्य दुई पक्षको चर्चा गर्छु ।

पहिले त अहिले बिरामी हुँदै गरेका मान्छेलाई सघन उपचार र भेन्टिलेटरको अभाव होला, कसरी सम्बोधन गर्ने भन्ने प्रश्नलाई खोतलौँ । त्यस्ता बिरामीलाई उल्लिखित जनशक्ति र प्रणालीगत व्यवस्थापनका चुनौतीका बाबजुद हाम्रो बुताले भ्याएसम्म सघन उपचारको शय्या वा भेन्टिलेटर बढाउनेतिर पहल त गरौँ नै, र कतै आरोप लगाएजस्तै शड्ढया वा भेन्टिलेटर ‘लुकाइएका’ भए त्यसको समुचित निगरानी र शय्याको वितरण वा उपयोगतर्फ ध्यान पक्कै दिऔँ । पटक्कै अचम्म नलाग्ने गरी अहिले हाम्रो नियतिका विधाता बनेर बसेका विज्ञहरू केन्द्रित भएका मुख्य उपायहरू यिनै हुन् ।

तर यी नितान्त अस्पतालकेन्द्रित कार्बाही हुन् । बुझ्नुपर्ने मुख्य कुरा के हो भने महामारीको यही चरणमा पनि महामारीसँग लड्न हामीले रोज्नुपर्ने मुख्य मोर्चा अस्पतालबाहिर समुदायमै हो । अस्पतालमा महामारीसँग लड्न थाल्यौँ भने यो पक्कै हामीले शतप्रतिशत हार्ने लडाइँ हुनेछ । अस्पतालमा मात्र महामारीसँग लड्दा हामीले समग्रमा संक्रमित हुनेहरूको संख्यालाई पटक्कै कम गर्न सक्दैनौं र अन्ततः सघन उपचार वा भेन्टिलेटरमा उपचार चाहिने व्यक्तिको संख्या कम हुनेछैन ।

हामीसँग पर्याप्त सघन उपचार शय्या र भेन्टिलेटर नभएकाले हामीले मृत्युदर पनि कम गर्न सक्नेछैनौँ । तल छलफल गरिएका समुदायमा नयाँ संक्रमित हुनेहरूको संख्या कम गर्ने उपायहरूको उपयोग गर्दा मात्र समग्रमा महामारीलाई नियन्त्रण गर्ने आशा गर्ने ठाउँ हुनेछ, र महामारी पूरै नियन्त्रण गर्न नसक्दा पनि कमसेकम अस्पतालमा पुग्ने वा सघन उपचार वा भेन्टिलेटर नै चाहिने बिरामीको संख्या धेरै कम गर्न सकिनेछ र हताहती घटाउन सकिनेछ ।

हाम्रो, विशेषगरी जटिलताका विभिन्न तहका झन्डै ३०० जना कोभिड बिरामीको उपचार गरिसकेका म कार्यरत अस्पतालका चिकित्सकहरूको विगत केही महिनाको अनुभवले के देखाउँछ भने अधिकांश सघन उपचार र भेन्टिलेटर चाहिने अवस्थामा पुगेका बिरामी त्यस्तो अवस्थामा पुग्नुको सबैभन्दा प्रमुख कारण अस्पताल पुगेर सही उपचार सुरु गर्नै ढिलाइ हुने वा अस्पताल पुग्दा बिरामी धेरै सिकिस्त भएसकेको हुने अवस्था हो ।

विश्वका अनुभवले पनि यो कुराको समर्थन गरेका छन् । रगतमा अक्सिजनको मात्रा कम हुन थाल्नेबित्तिकै जुन बिरामी अस्पताल पुगे, र यथाशीघ्र अक्सिजन, रेम्डेसिभिर, रगत जम्न नदिने इन्जेक्सन, आदि उपचार सुरु गर्न पाए, तीमध्ये थोरै बिरामीलाई मात्र सघन उपचार कक्षमा सारेर अलि धेरै अक्सिजन द्रुत प्रवाहमा दिनुप¥यो, तर झन् थोरै बिरामीलाई मात्र भेन्टिलेटरमै राख्नुपर्यो, र एकदम कमको मात्र मृत्यु भयो ।

यो बुझ्न किन महत्वपूर्ण छ भने यदि अक्सिजन चाहिने बिरामीले समयमै उचित उपचार सुरु गर्न पाउने हो भने अहिले चाहिएका धेरैभन्दा धेरै सघन उपचार कक्षका शय्या र भेन्टिलेटर सायद चाहिने नै थिएनन् । त्यसैले हाम्रो ध्यान समयमै उचित उपचार सुरु गर्नका लागि गर्नुपर्ने केही कुरामा केन्द्रित गरौँ । निदान समयमै हुनुपर्यो । धेरै सिकिस्त भएर अस्पताल पुग्ने र पछि मृत्यु हुने बिरामीलाई कोरोना भाइरस रोगको लक्षण देखिन थालेको हप्ता–दश दिनजति भइसकेको हुन्छ । तर, त्यतिवेलासम्म परीक्षण नै भएको हुँदैन ।

कति बिरामी आफैँ नै खर्चको कारणले वा अस्पतालमा गएर परीक्षण गर्न जाँदा उल्टो आफूलाई अर्काको कोरोना भाइरस सर्छ भन्ने डरले वा यातायातको असुविधाको कारणले परीक्षण गर्न जाँदैनन् । कति कोरोना भाइरस देखिए आफू र आफ्ना परिवारका सदस्यलाई छिमेकीले दुव्र्यवहार गर्लान् भन्ने पिरले जाँच गर्न जाँदैनन् ।

कतिले काठमाडौं मनपाको कुनै वडा कार्यालयको सहयोगमा जाँच त गराएका हुन्छन्, तर त्यो स्वाब टेकुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पुर्याइएको हुन्छ, जहाँ कहिलेकाहीँ बुझ्न नसकिने किसिमले अझै पनि रिपोर्ट दिन ३–४ दिनसम्म लगाइएको छ । अस्पतालमा सिकिस्त भएर पुगेपछि मात्र स्वाब दिनेको पनि रिपोर्ट प्राप्त हुन सरदरमा कम्तीमा एक दिन लाग्ने गरेको छ ।

त्यसरी रिपोर्ट दिन १–२ दिन मात्र ढिलो हुँदा रेम्डेसिभिरजस्तो औषधि समयमै दिन नपाएर बिरामी हेर्दाहेर्दै सिकिस्त भएको पनि देखिएको छ । पिसिआर जाँचलाई सस्तो, छरितो, द्रुत नतिजा प्राप्त गर्न सकिने तरिकाले गर्ने उपायहरू नभएका वा नसुझाइएका होइनन्, सम्बन्धित निकायले त्यस्ता उपाय अवलम्बन गर्ने दायित्व र जवाफदेहिताको बोध नगरेका मात्र हुन् ।

संक्रमण भएर आइसोलेसन बसेका बिरामीको निगरानी हुनुपर्यो, ताकि अक्सिजन कम हुन थाल्नेबित्तिकै तिनलाई अस्पताल लग्न सकियोस् । अहिले लगभग सबै यस्ता बिरामी घरमै आइसोलेसनमा बसेका छन् र तीमध्ये निकै थोरैलाई मात्र औँलामा राखेर रगतमा अक्सिजनको मात्रा नाप्ने सानो उपकरण ‘पल्स अक्सिमिटर’को जोहो गरेर अक्सिजनको मात्राको हेक्का राख्नुपर्छ भन्ने चेतना भएको देखिन्छ ।

संक्रमण भएका मान्छे घरमै आइसोलेसन बस्नलाई मिल्ने कोठाको प्रबन्ध आदि अधिकांश काठमाडौंका परिवारलाई उपलब्ध छैन । संक्रमितको परिवारका हरेक सदस्यलाई पनि एकअर्कासँग घुलमिल नभई छुट्टाछुट्टै कोठामा बस्नुपर्ने हुन्छ, जुन अधिकांश परिवारका लागि असम्भव छ । त्यसैकारणले संक्रमण घरमा भित्रभित्रै फैलिरहेको देखिन्छ ।

संक्रमणको पुष्टि भएका, सामान्य लक्षण भएका तर अक्सिजनको मात्रा कम नभएका हजारौँ व्यक्तिहरूलाई राख्न मिल्ने आइसोलेसन स्थलहरूको व्यवस्था विभिन्न तहका सरकारले नगरी छुट पाउँदैनन् । त्यस्ता ठाउँमा सामान्य स्वास्थ्य तालिम भएका स्वास्थ्यकर्मीले निगरानी गर्न सक्छन्, र मुख्य कुरा, संक्रमितमा जटिल लक्षण वा अक्सिजनको मात्रा घटेको देखिनेबित्तिकै एम्बुलेन्समा राखेर अस्पताल पठाउन सकिनेछ ।

यसरी अक्सिजनको मात्रा घट्नेबित्तिकै अस्पतालका सामान्य बेडमै राखेर अक्सिजन र अन्य आवश्यक उपचार गर्न थाल्दा त्यस्ता बिरामीलाई सघन उपचार कक्षको उपचार वा भेन्टिलेटर नै चाहिने अवस्था आउने सम्भावना एकदम कम हुन्छ । अर्कोतिर घरभित्रभित्रै संक्रमण सल्किने सम्भावना पनि न्यून हुन्छ । त्यसैले आइसियू शय्या वा भेन्टिलेटरको संख्या बढाउनेभन्दा समुदायमा पर्याप्त मात्रामा आइसोलेसनका शय्याहरूको व्यवस्था गर्दा समग्रमा हताहती धेरै घटाउन सकिनेछ ।

अर्को झन् महत्वपूर्ण कुरा के हो भने अहिले समग्र महामारी नियन्त्रणको रणनीति नै देखिँदैन । अस्पतालमा शड्ढया बढाउने वा थुप्रै समस्या भएका एन्टिजेन टेस्टलाई खुला गर्ने कुरा महामारी नियन्त्रणका रणनीति होइनन् । सरकारले अब यो नियन्त्रण गर्न सकिँदैन भनेर पूरै आत्मसमर्पण गरेको जस्तो देखिन्छ । तर, हार्ने निश्चित नै हुँदा पनि सम्मानजनक रूपले हार्ने रणनीति बनाउनुपर्छ, जबकि यो लडाइँमा त आत्मसमर्पण गर्ने छुट नै छैन ।

महामारी नियन्त्रणको रणनीति सामान्यीकरण गरेर भन्दा अंग्रेजीमा तीन मुख्य कडी हुन्छन् : टेस्ट, ट्रेस अनि क्वारेन्टाइन र आइसोलेट । सरकारले टेस्ट बढाएन भनेर आलोचना भइरहेको छ, तर सरकारका विज्ञहरू टेस्ट कसरी बढाउने भनेर रनभुल्लमा परेका देखिन्छन् । टेस्ट बढाउने रणनीति नै कन्ट्याक्ट ट्रेसिङ राम्ररी गर्नु हो ।

राम्ररी ट्रेसिङ गरेर एउटा संक्रमित व्यक्तिसँग सम्पर्कमा आएका २५–३० जना अरूलाई पहिचान गरियो भने ती २५–३० जनाको परीक्षण गर्न सकिन्छ, यसरी एउटा पोजेटिभ टेस्टबाट २५–३० जनामा परीक्षण पुर्याउनु नै परीक्षण बढाउने उपाय हो । टेस्ट धेरै गरेर धेरैभन्दा धेरै संक्रमित पहिचान गर्दै, कन्ट्याक्ट ट्रेसिङको मद्दतले एक पोजेटिभ केसबाट अरू धेरै केससम्म पुग्दै, राम्ररी क्वारेन्टाइन र आइसोलेसन सुविधा उपलब्ध गराउँदै गरेमा मात्र समुदायमा नयाँ केस घट्न थाल्छन्, र अस्पतालमा चाप कम हुनेछ । दसौँ हजारलाई सघन उपचार गर्नुभन्दा यो धेरै सस्तो पनि हुनेछ । नत्र हप्तौँ र महिनौँसम्म निरन्तर नरसंहारको क्रम चलिरहनेछ ।

माथिका तीन मुख्य कडीमा हामीले पटक्कै उपयोग गर्न नसकेका कडीचाहिँ एक नम्बरमा कन्ट्याक्ट ट्रेसिङ र त्यसपछि चाहिँ क्वारेन्टाइन र आइसोलेसन हुन् । 
कन्ट्याक्ट ट्रेसिङ बढाऔँ न भन्दा विज्ञहरूबाट आउने प्रतिक्रिया के हो भने समुदायमा संक्रमण यति धेरै फैलिसक्यो, मान्छे सार्वजनिक बसमा कसकसलाई भेट्छन्, अब कहाँ कन्ट्याक्ट ट्रेसिङ गरेर साध्य हुन्छ ? तर बुझ्नुपर्ने चुरो नै यहीँ छ ।

संक्रमणको पुष्टि भएका, सामान्य लक्षण भएका तर अक्सिजनको मात्रा कम नभएका हजारौँ व्यक्तिहरूलाई राख्न मिल्ने आइसोलेसन स्थलहरूको व्यवस्था विभिन्न तहका सरकारले नगरी छुट पाउँदैनन् । त्यस्ता ठाउँमा सामान्य स्वास्थ्य तालिम भएका स्वास्थ्यकर्मीले निगरानी गर्न सक्छन् ।

हामीले राम्ररी प्रयास गर्दा पनि सबै कन्ट्याक्टलाई ट्रेस गर्न नसकौँला, तर पनि हामीले आफ्नो बुताले जति ट्रेस गर्न सक्छौँ, त्यतिबाटै पनि ठूलो फाइदा हुनेछ । साझा बसमा सँगै बसेका कन्ट्याक्ट नभेटिएलान्, तर घरछिमेक, जागिरमा सम्पर्कमा आएका व्यक्ति त भेटिएलान् । फिनल्यान्डमा झैं प्रतिपोजेटिभ केसको १८५ जना कन्ट्याक्ट भेट्न नसके पनि यदि इटलीको झैँ ३७.५ वा भारतको तमिलनाडु र आन्ध्रप्रदेशकै झैँ ७.२ जना मात्र भेट्टायौँ र तिनलाई क्वारेन्टाइन र जाँच ग¥यौँ भने समुदायमा नयाँ केस त्यही अनुपातमा घट्नेछ र अस्पतालमा आइसियू नपाएर मर्नुपर्ने नियति पनि त्यही अनुपातले कम हुनेछ ।

उदाहरणका लागि, मानौँ काठमाडौंमा दिनमा ५० जनाको सघन उपचार शय्या नपाएर मर्नुपर्ने दिन आएछ । माथि सुझाएको एप्रोचले महामारी पूरै नियन्त्रण गर्छ भन्ने विश्वास लागेनछ भने पनि त्यसले दिनमा ३० जनालाई मात्र आइसियू चाहिने बनायो भने २० जना त बाँच्ने भए नि । त्यो पनि वाञ्छनीय परिणाम नै हो नि । त्यसैले अहिले कन्ट्याक्ट ट्रेसिङ गर्नुको अर्थ छैन भन्नेलाई अंग्रेजीको एउटा भनाइको सार स्मरण गर्न अनुरोध गर्छु– राम्रो नतिजा पाउन सकिने कुनै कामलाई पनि त्यसले सर्वोत्कृष्ट नतिजा दिँदैन भन्ने आधारमै अस्वीकार नगरौँ ।

समुदायमा महामारीसँग लड्ने कुराको महत्व विशेषगरी विज्ञ वा विशेषज्ञ भनिएका व्यक्तिलाई नै यति लामो समयसम्म बुझाउन सकिएको छैन । उहाँहरू चीनको वुहानमा रातारात बनेका अस्पताल मात्र सम्झनुहुन्छ । के बिर्सिनुहुन्न भने वुहानमा मात्र कन्ट्याक्ट ट्रेसिङ गर्न, क्वारेन्टाइन र आसोलेसन गराउन र संक्रमितलाई सल्लाह र सहयोग दिन १८ सयवटा ५ सदस्यीय महामारीशास्त्रीले नेतृत्व गरेका टोली कार्यरत थिए ।

नेपालका तराईका केही नाकाबाट भर्खर महामारी पस्न थालेका वेला भारतले त्यस्तै र्यापिड रेस्पन्स टिम’ पठाइदिन्छौँ भनेको पनि थियो । तिनको उपयोग गर्न सक्दा हामीले पनि त्यस्तो काम कसरी गर्ने भन्ने सिक्न सक्थ्यौँ र सम्भवतः देशभर विस्तार गर्न सक्थ्यौँ । आखिर हामीले आफैँ त्यसो गर्न सक्ने क्षमता वा चेतना त रहेनछ भन्ने देखिसकियो । तर, त्यसवेला परराष्ट्रमन्त्री ज्ञवालीले तुरुन्तै हामीलाई त्यस्तो सहयोग नचाहिएको खालि उपकरण आदि मात्र चाहिएको जवाफ दिनुभयो ।

अहिले भारत त आफैँ महामारीविरुद्ध ठूलो लडाइँमा अल्झेको छ । मेरो सरकारलाई अनुरोध छ, कृपया चीन सरकारलाई औपचारिक रूपमा त्यहाँको महामारी नियन्त्रण गर्ने काममा नेतृत्व लिएका महामारीशास्त्री, प्रयोगशाला विज्ञान र अन्य विषयका विज्ञहरूको टोली पठाइदिएर नेपालमा महामारीको नियन्त्रण र हताहती कम गर्न के–के गर्न सकिन्छ, उनीहरूलाई त्यसको द्रुत सर्वेक्षण गरी सुझाब दिन र सम्भवतः केही समय यहीँ बसेर हामीलाई सघाउन अनुरोध गरौँ न । हाम्रो कुरा नसुने पनि यहाँहरूले विशाल मित्रराष्ट्रका विज्ञहरूको कुरा पो सुन्नुहुन्थ्यो कि ?

सुझावित समाचार