७ महिनापछि १ हजार ६ सयको तहमा आएको नेप्सेले यो बिन्दुमा कडा प्रतिरोधको सामना गरेको छ । १ वर्षयताकै उच्च बिन्दु १ हजार ६ सय २० नेप्सेका लागि कडा प्रतिरोधसाबित भइरहेको छ । बिहीबार कारोबारको सुरुमै १ हजार ६ सय १३ सम्म पुगेर नेप्से ओर्लिएको हो । काराेबार बन्द हुँदा अघिल्लो दिनको भन्दा ११ दशमलव ३४ अंकले घटेर नेप्से १ हजार ५ सय ८९ बिन्दुमा आएको छ ।
बजारले सकारात्मक खबरहरूको अपेक्षा गरिरहे पनि खासै त्यस्तो खबर प्रसारित नहुँदा लगानीकर्ताको मनोबल बढ्न सकेको छैन । जलविद्युत्जस्ता केही क्षेत्रमा देखिएको अत्यधिक वृद्धिसमेत थामिएको छ । समग्र अर्थतन्त्रको प्रभाव नेप्सेमा कम देखिँदै आएको भए पनि विश्व बैंकले कोभिड–१९ का कारण नेपालका अनौपचारिक क्षेत्रमा रहेका जनशक्ति तथा सामाजिक सुरक्षा र सहायतामा नसमेटिएका समुदाय चरम गरिबीमा धकेलिने सम्भावना रहेको बताएको छ ।
मूलतः बजारमा सूचीकृत कम्पनीहरूमा पर्ने प्रभावले नेप्सेलाई बढी प्रभाव पार्ने गर्छ । कोभिडबाट अधिकांश क्षेत्रमा प्रभाव पर्ने देखिएको छ । जलविद्युत्जस्ता क्षेत्रमा कोभिड–१९ को कम प्रभाव पर्ने र तुलनात्मक रूपमा सञ्चालन नरोकिने, बैंक ब्याजदर घट्नेजस्ता कारणले केही लाभ पाइने भए पनि यो क्षेत्रका अधिकांश कम्पनीहरू अहिले पनि प्रभावकारी रूपमा सञ्चालनमा आउन सकेका छैनन् । कतिपयको सञ्चित नोक्सान रहेको र निश्चित लाभ हुने क्षेत्र भएकाले पनि यसमा ठूलो सुधारको अपेक्षा गर्न सकिने अवस्था छैन ।
लगानीकर्ता भने अल्पकालीन रूपमा किनबेच गरिरहेकै छन् । यही कारण पनि कारोबार रकम खासै घटेको छैन । बिहीबार पनि कारोबार रकम भने २ अर्ब ९० करोड रुपैयाँबराबर भएको छ । जलविद्युत्पछि लगानीकर्ता वित्त कम्पनी र विकास बैंकमा कारोबार गरिरहेका छन् । तुलनात्मक रूपमा कम मूल्यका यी कम्पनीमा लगानीकर्ता लगानी गरिरहेका छन् ।
यही कारण बिहीबार मूल्य बढ्ने १० कम्पनीमा यिनै रहे । मल्टी पर्पस, समृद्धि, गुर्खाज, गुह्येश्वरी मर्चेन्ट, रिलायन्स, बेस्ट, आइसिएफसी र सेन्ट्रल फाइनान्सको मूल्य करिब ७ देखि १० प्रतिशतसम्म वृद्धि भयो । आइसिएफसीबाहेक अन्यको मूल्य २ सय रुपैयाँभन्दा कम छ । त्यस्तै, कर्णाली विकास र ग्रिन डेभलपमेन्ट बैंकको पनि मूल्य करिब ९ देखि १० प्रतिशतसम्म बढेको छ ।
वित्त, लघुवित्त र सामूहिक लगानी कोषका समूहगत परिसूचकबाहेक सबै समूहगत सूचक घटेको छ । १ सय ९३ कम्पनीको सेयर किनबेच भएकोमा १ सय १३ को घटेर, ४९ को बढेर कारोबार भएको छ । बाँकीको स्थिर छ । यस दिन स्वावलम्बन लघुवित्तको १ लाख ४८ हजारभन्दा बढी कित्ता (२४ प्रतिशत) बोनस सेयर सूचीकृत भएको छ ।