७ महिनापछि नेप्से परिसूचकले पहिलोपटक १ हजार ६ सयको बिन्दु भेट्न सफल भएको छ । यसअघि गत १८ फागुनमा नेप्से १ हजार ६ सय २० बिन्दुमा पुगेर घट्न थालेको थियो । नेप्से त्यसयताको न्यूनतम बिन्दु १ हजार १ सय ७८ बिन्दुबाट फर्किएर घटबढसहित यो बिन्दुमा आइपुगेको छ ।
नेप्से अहिले मनोवैज्ञानिक बिन्दुमा आइपुगेको छ । यहाँबाट बढ्न थाले बजार थप माथि जानेछ । हालका लागि नेप्से १ हजार ६ सय २० बिन्दुमा प्रतिरोध परीक्षणमै छ । यो बिन्दुसमेत पार गरेमा भने नेप्से थप केही समय बढ्न सक्नेछ । यो १ वर्षयताकै उच्च बिन्दु हो ।
बजारले वृद्धिको संकेत देखाएपछि लगानी रकम पनि बढेको छ । कारोबार रकम ३ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ३४ प्रतिशतले वृद्धि भएको हो । कारोबारमा आएका १ सय ९५ कम्पनीमा १ सय २३ कम्पनीको मूल्य बढेको छ, ३७ कम्पनीको मूल्य घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।
जलविद्युत् कम्पनी नै अहिले ‘हट केक’ बनिरहेको छ । केही दिनदेखि यी समूहमा अधिकांश कम्पनीको मूल्य दैनिक १० प्रतिशतको दरमा वृद्धि भइरहेको छ । ‘पहिले ८ सयसम्म मूल्य हालेका जलविद्युत् कम्पनी त्यो हिसाबमा त अहिले पनि मूल्य कम नै हो,’ सेयर विश्लेषक प्रकाश तिवारीले भने, ‘तर, राम्रा एउटा–दुइटाबाहेक अन्य कम्पनीबाट अहिले पनि लगानीकर्ताले ५–८ प्रतिशत प्रतिफल मात्र पाइरहेका छन्, आम्दानी निश्चित हुने यी कम्पनीमा केहीको भने मूल्य अधिमूल्यन भइसकेको मान्न मिल्छ ।’
बजारमा १८ वर्षदेखि लाभांश नै नदिएका जलविद्युत् कम्पनीको समेत मूल्य १०–१० प्रतिशतको दरमा वृद्धि भइरहेको छ । केही कम्पनीको सञ्चित नोक्सान अझै बाँकी छ । तर, सबै जलविद्युत् कम्पनीलाई एकै रूपमा लगानीकर्ताले व्यवहार गरिरहेका छन् । यो समूहभित्र पनि कम्पनी छानेर लगानी गर्नुपर्नेमा त्यता ध्यान दिएका छैनन् ।
अन्य कतिपय समूहका कम्पनीहरूमा कोभिड–१९ को प्रभाव परे पनि जलविद्युत् उत्पादनमा प्रभाव नपर्ने देखिएको, यी कम्पनीले बैंकबाट लिएको ब्याजदर कम हुनेलगायतका आधारमा मूल्य बढिरहेको छ । लामो समय अंकित मूल्यभन्दा तल रहेका कम्पनीको मूल्य अहिले उच्च दरमा बढिरहेको छ । तर, प्रतिफलकै आधारमा लगानी गरिने सेयर बजारमा यी कम्पनीको अहिलेको अवस्थाले मूल्य कति खाम्छ हेर्न भुल्नुहुँदैन ।