डा. केसीसँग भएका सम्झौता कार्यान्वयनको अवस्था जानकारी गराउन सरकारलाई मानव अधिकार आयोगको पत्र

बुधबार, २१ असोज, २०७७
डिजिटल संस्करण

राष्ट्रिय मानव अधिकार आयोगले डा. गोविन्द केसीको स्वास्थ्य अवस्था एवं नेपाल सरकारसँग विगतमा भएका सम्झौताको कार्यान्वयन अवस्था सम्बन्धमा जानकारी गराउन पत्राचार गरेको छ । आयोगले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, ‘डा. केसीको स्वास्थ्य अवस्था सम्बन्धमा आयोगको बागमती प्रदेश कार्यालयको टोलीले महाराजगन्जस्थित शिक्षण अस्पताल पुगी अनुगमन गरेको छ । निजको स्वास्थ्य अवस्था सम्बन्धमा नेपाल सरकारबाट चासोका साथ नहेरिएको अनुगमनका क्रममा पाइएको छ । आयोगले डा. गोविन्द केसीको स्वास्थ्य अवस्था एवं नेपाल सरकारसँग विगतमा भएका सम्झौताहरूको कार्यान्वयन अवस्था सम्बन्धमा जानकारी गराउन नेपाल सरकारलाई पत्राचार गरेको छ ।’

केसीको स्वास्थ्य अवस्था अत्यन्तै चिन्ताजनक बन्दै गइरहेको भन्दै आयोगले ध्यानाकर्षण भएको बताएको छ । त्यस्तै, आयोगले भनेको छ, ‘वार्ता र संवादको माध्यमबाटै कुनै पनि समस्याको समाधान हुने भएकाले त्यसतर्फ समयमै सार्थक पहल गरी निजको जीवनरक्षा गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ । साथै, आफ्ना मागहरू पूरा गराउन आमरण अनशनजस्तो जीवन नै जोखिममा पर्न सक्ने जटिल विकल्प नरोज्न पनि आयोग अनशनरत डा. केसीलाई आग्रह गर्दछ ।’

सुझावित समाचार