यौन दुर्व्यवहारको आरोपमा ओखलढुंगामा एकजना वडाध्यक्ष पक्राउ परेका छन् ।
स्थानीय एक महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका– ३ का वडाध्यक्ष मेडल राईलाई प्रहरीले पक्राउ गरेको हो ।
मादक पदार्थ सेवन गरेर आफूलाई यौन दुर्व्यवहार गरेको भन्दै महिलाले दिएको लिखित उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख रूपेश खड्काले जानकारी दिए ।
पक्राउ परेका राईविरुद्ध म्याद थप गरेर अनुसन्धान थाल्ने तयारी भइरहेको उनको भनाइ छ ।
‘करणीको जाहेरी आएपछि हामीले नियन्त्रणमा लिएका छौँ,’ उनले भने, ‘अदालतमा म्याद थप गरेर अनुसन्धान गर्ने तयारी भइरहेको छ ।’
घटना अनुसन्धानमै रहेकाले थप बताउन नमिल्ने प्रहरीको भनाइ छ ।
अध्यक्ष राईले चार दिनअघि मादक पदार्थ सेवन गरेर महिलाकै घरैमा गई यौन दुर्व्यवहार गरेको पीडित महिलाको आरोप छ ।
घटना स्थानीयस्तरमा मिलाउने प्रयास गरिए पनि पीडित महिला प्रहरीमा पुगेपछि प्रहरीले वडाध्यक्षलाई पक्राउ गरेको छ ।
राति महिला सुतेकै ठाउँमा गएर वडाध्यक्ष राईले करणी प्रयास गरेको पीडित पक्षको आरोप छ ।