खेलाडी कल्याणकारी कोषद्वारा विभिन्न खेलाडीलाई उपचार रकम प्रदान

आइतबार, १८ असोज, २०७७
डिजिटल संस्करण

राष्ट्रिय र पूर्वराष्ट्रिय खेलाडीलाई आइतबार राष्ट्रिय खेलाडी कल्याणकारी कोषले उपचार खर्च प्रदान गरेको छ । 

राजधानीमा आइतबार एक कार्यक्रमको आयोजना गरी कल्याणकारी कोषले नेपाली पूर्व र वर्तमान खेलाडीलाई उपचारका लागि आर्थिक सहयोग गरेको हो । 

एथलेटिक्स, बास्केटबल, जुडो र कबड्डीका गरी चारजनालाई जम्मा चार लाख रुपैयाँ प्रदान गरिएको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले बताए । 

एथलेटिक्सका पूर्वराष्ट्रिय खेलाडी रविनकुमार राईको परिवारलाई एक लाख रुपैयाँ प्रदान गरिएको छ । क्यान्सर रोगबाट पीडित राईको गत साउन १९ गते निधन भएको थियो । उक्त रकम राईकी धर्मपत्नी मन्जु श्रेष्ठ राईलाई हस्तान्तरण गरिएको हो । राईका आठ वर्षीय छोरा संकल्प पनि आँखाको क्यान्सरबाट पीडित छन् । सो रोगबाट उनको दुवै आँखाको ज्योति पनि गुमेको छ । 

सदस्यसचिव सिलवालले पूर्व तथा वर्तमान खेलाडी र प्रशिक्षकको बिमा गर्न सके सहयोगबाट वञ्चित हुने अवस्था नआउने बताए । 

उपचार रकम जुटाउन सक्नेलाई समेत राज्य र संघको तर्फबाट भएकाले सहयोगले सम्मान हुने उनले बताए । 

आइतबार नै बास्केटबलकी सविता खड्कालाई एक लाख २५ हजार, जुडोका पूर्वखेलाडी पृथ्वी आलोकलाई एक लाख र कबड्डीकी मनीषा विष्टलाई ७५ हजार रुपैयाँ प्रदान गरिएको छ । तीनैलाई घुँडाको समस्या छ । 

मनीषाको रकम नेपाल कबड्डी संघका प्रतिनिधिले बुझाउने गरी बुझेका छन् । राखेपका सदस्यसचिव एवं कोषका अध्यक्ष सिलवालले उनीहरूलाई उक्त रकमबराबरको चेक हस्तान्तरण गरे । 

०६८ मा स्थापना भएको खेलाडी कल्याणकारी कोषले समस्यामा परेका खेलाडीलाई सहयोग गर्दै आएको छ । 

यसअघि कोषले ०७२ को महाभूकम्पमा ज्यान गुमाएका खेलाडी, प्रशिक्षक र खेल पत्रकार गरी १२ परिवारलाई समान एक–एक लाखका दरले आर्थिक सहयोग उपलब्ध गराएको थियो । 

भूकम्पकै कारण अन्य क्षति व्यहोरोका ८० खेलाडीलाई जनही २० हजारका दरले आर्थिक सहयोग प्रदान गरेको थियो ।

सुझावित समाचार