लमजुङमा यात्रुबस दुर्घटना हुँदा एकको मृत्यु, दुई गम्भीर घाइते

शनिबार, १७ असोज, २०७७
डिजिटल संस्करण

लमजुङको उदीपुरमा यात्रुबस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बेसीसहरबाट खत्रीठाँटी जाँदै गरेको  ग.१ख ६५०१ नम्बरको यात्रुबस  दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्।  शनिबार बेलुका पौने ८ बजे बेसीसहर नगरपालिका– १ डुडामुख घुम्तीमा बस दुर्घटना भएको हो । 

दुर्घटनामा परी बेसीसहर नगरपालिका– १ धिमिरेका  अन्दाजी  २६ वर्षका अर्जुन परियारको मृत्यु भएको लमजुङका डिएसपी गंगाबहादुर थापाले बताए ।  घाइतेमध्ये  दुईजनाको अवस्था गम्भीर छ । 

गम्भीर घाइते बेसीसहर नगरपालिका– ४ पुरानकोटका मनोज गुरुङ र राईनास– ८ का  सुदीप नेपालीलाई थप उपचारका लागि चितवन  लगिएको डिएसपी थापाले बताए । दुर्घटनामा सामान्य घाइते भएका बेसीसहर नगरपालिका– ४  पुरानकोटका दीपेन्द्र गुरुङको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ भने प्रकाश बुढाथोकी स्थानीय अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।  

बस  सडकबाट  ८० मिटर तल खसेको प्रहरीले जनाएको छ । बसमा पाँचजना  यात्रु सवार थिए ।  दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

सुझावित समाचार