बैतडी जिल्लाको पाटनमा रहेको विमानस्थल २६ वर्षपछि सञ्चालनमा आउने भएकाे छ ।
०३६ सालबाट सञ्चालनमा आएको पाटन एयरपोर्ट ०५१ सालदेखि भने बन्द थियो । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको सम्पर्क बिन्दुसमेत रहेको पाटन उपत्यकामा रहेको एयरपोर्ट विगत तीन वर्षदेखि मर्मतसम्भार हुँदै आएको थियो ।
नयाँ संरचना निर्माणका लागि सरकारले ११ करोड बजेट विनियोजन गरेको थियो । निर्माण भएको एयरपोर्टको आज पर्यटनमन्त्री योगेश भट्टराईले उद्घाटन गर्ने कार्यक्रम छ । मन्त्री भट्टराई आजै पाटन पुग्ने कार्यक्रम छ । मन्त्रीसँगै बैतडी, बझाङ र डोटीका सांसदसहित नागरिक उड्ययन प्राधिकरणको प्राविधिक टोली छ ।
बैतडीबाट प्रतिनिधिसभा सदस्य दामोदर भण्डारीका अनुसार पाटन पुगेपछि मन्त्रीले स्थानीय कार्यकर्ताहरूसँग छलफल गर्ने कार्यक्रमसमेत रहेको छ ।
सुदूरपश्चिमको क्षेत्रमा तराई–पहाडको हवाई यात्राका लागि प्राधिकरणको टोलीले अध्ययन गर्ने र प्राविधिक दृष्टिकोणले मिलेसम्म आगामी दिनहरूमा उडानलाई निरन्तरता दिने भण्डारीको भनाइ छ।
विमानस्थल गत माघ महिनामै निर्माण सम्पन्न भइसकेको छ। विमानस्थलको धावनमार्ग निर्माण भए पनि टर्मिनल भवन र कन्ट्रोल टावरको निर्माण भने सुरु नै भएको छैन।