संक्रमणमुक्त भएका खेलाडी जोडी भन्छन्– ‘धेरै नडराउनूस्, उच्च मनोबल बनाउनूस्’

शनिबार, १६ असोज, २०७७
डिजिटल संस्करण

नेपाली खेलकुदका आकर्षक जोडीमध्येका हुन्, नयना शाक्य र विकास शाही । स्विमिङ र बास्केटबलका पूर्वखेलाडी नयना अहिले प्रशिक्षकका रूपमा सक्रिय छिन् । बास्केटबलका पूर्वखेलाडी विकास पनि अहिले प्रशिक्षककै भूमिकामा छन् । यी दुईको जोडीलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण भयो । उनीहरूको जुम्ल्याहामध्ये कान्छो छोरालाई पनि संक्रमण देखियो । उनीहरूले आफ्नो संक्रमण लुकाएनन् । सामाजिक सञ्जालमै ‘सेयर’ गरे । नयना भन्छिन्, ‘संक्रमण लुकाउनु हुन्न । हाम्रो अनुभवले अरूलाई संक्रमण जित्न मद्दत पुगोस् भन्ने उद्देश्यले सामाजिक सञ्जालमै सेयर गर्यौँ।’

                                                                        ......

‘केही भएको छैन भन्ने सोचेर बस्यौँ’ : विकास शाही, बास्केटबल प्रशिक्षक

हामीलाई कसरी संक्रमण भयो भन्ने थाहै पाएनौँ । हामी निक्कै सावधानी अपनाएर बसेका थियौँ । यद्यपि, केही लक्षण देखिएपछि परीक्षण गर्दा संक्रमण देखियो । मसँगै श्रीमती र छोरालाई पनि देखियो । हामी तीनजनामा एक–एक दिनको अन्तरमा संक्रमण पुष्टि भएको थियो । हामीलाई संक्रमण देखिएपछि घरको अरू सदस्यलाई सुरक्षित राखेर हामी ‘क्वारेन्टाइन’ बस्यौँ । सुरुवातमा के गर्ने कसो गर्ने भयो । पछि हामीले डाक्टरसँग सल्लाह गर्‍यौँ । अमेरिकामा मेरै एकजना डाक्टर साथी कोरोना भाइरस संक्रमणबारे अध्ययन गरिरहेका छन् । ऊसँग पनि सल्लाह गरेँ । सबैजनाले मनोबल उच्च राख्नुपर्छ भन्नुभयो । त्यसपछि हामीले सल्लाह नै गरेर अब हामीलाई केही भएको छैन भन्ने सोचेर बस्ने निर्णय गर्यौँ। 

संक्रमणका बारेमा सोच्नेभन्दा पनि अरू काममा व्यस्त हुने गर्‍यौँ । यो समयमा आफूलाई काम लाग्ने ‘अनलाइन क्लास’हरूमा पनि सहभागी भएँ । संक्रमित हुँदा समस्या आउँदै नआउने होइन । केही शारीरिक समस्या हुन सक्छ । तर, उच्च मनोबलले यो समस्यालाई जित्न सकिन्छ । हामीले हामीजस्तै अरू कसैलाई पनि संक्रमण जित्न मद्दत पुगोस् भन्ने उद्देश्यले सामाजिक सञ्जालमा पनि राख्यौँ । हामीले सानो छोराले बाफ लिइरहेको ‘भिडियो’ पनि राखेका थियौँ । अन्ततः हामी संक्रमणमुक्त भएका छौँ । यदि कसैलाई संक्रमण भएको छ भने म उहाँहरूलाई उच्च मनोबलका साथ सामना गर्न सुझाब दिन चाहन्छु । मानसिक रूपमा बलियो हुने हो भने हामी संक्रमणलाई पार गर्न सक्छौँ ।

संक्रमणका बारेमा सोच्नेभन्दा पनि अरू काममा व्यस्त हुने गर्‍यौँ । यो समयमा आफूलाई काम लाग्ने ‘अनलाइन क्लास’हरूमा पनि सहभागी भएँ । संक्रमित हुँदा समस्या आउँदै नआउने होइन । केही शारीरिक समस्या हुन सक्छ । तर, उच्च मनोबलले यो समस्यालाई जित्न सकिन्छ ।

‘दैनिक अरू काममा व्यस्त भएर बिताएँ’ : नयना शाक्य, स्विमिङ प्रशिक्षक

आफूलाई भन्दा पनि छोरालाई संक्रमण देखिएपछि धेरै पीडा भयो । एक रात रोएरै बिताएँ । कोरोना भाइरसका बारेमा पढेको थिएँ । सुनेको पनि थिएँ । तर, आफैँ संक्रमित भएपछि भने के हुँदै छ भन्ने नै थाहा नहुने रहेछ । संक्रमण पुष्टि भएपछि डाक्टरसँग सल्लाह गर्‍यौँ । उहाँहरूको सल्लाहपछि हामीले आफ्नो समस्याभन्दा पनि अरू नै विषयतर्फ केन्द्रित हुने निर्णय गर्‍यौँ । त्यसपछि घरको काममा व्यस्त बन्यौँ । छोरालाई अझ बढी केयर गर्‍यौँ । घरको सरसफाइ गर्‍यौँ । शारीरिक व्यायाम गर्यौँ । प्रायः समय हामी सकारात्मक रहने प्रयास गर्यौँ । मनोबल उच्च राख्यौँ । यी गतिविधिले संक्रमणलाई जित्न मद्दत गर्यौँ । 

हामीले सामाजिक सञ्जालमा ‘सेयर’ गरेपछि धेरैले फोन गरेर हौसला दिनुभयो । यसले गर्दा हामीलाई अझ सहज भयो । सामाजिक सञ्जालतिर हेर्दा कोरोना भाइरसबारे नकारात्मक कुराहरू धेरै प्रचार गरिएको छ । यसले मान्छेलाई आतंकित मात्रै तुल्याउँछ । त्यसैले यस्ता कुरामा धेरै ध्यान दिनुहुन्न । तपाईंलाई संक्रमण भइहाल्यो भने पनि नआत्तिनोस् । तपाईं हाँसीखुसी रहनुहोस् । आफूलाई केही भएको छैन भन्ने सोचेर बस्नुहोस् । स्वस्थ खानेकुरा खाने प्रयास गर्नुहोस् । यसले तपाईंलाई संक्रमण जित्न मद्दत गर्नेछ । त्यति भन्दाभन्दै पनि आवश्यक सावधानी त अपनाउनु नै पर्छ । त्योभन्दा पनि संक्रमण नै हुन नदिनु अझ राम्रो हो । सकेसम्म भिडभाड भएको ठाउँमा नजानुहोला । बाहिर निस्कँदा मास्क र स्यानिटाइजरलगायत आवश्यक सुरक्षाका उपाय अपनाउनुहोस् ।

सुझावित समाचार