महात्मा गान्धीको १५१औँ जन्मजयन्तीको अवसरमा भारत सरकारले ३० जिल्लाका सरकारी निकाय र गैरसरकारी एवं गैरनाफामूलक संघसंस्थाहरुलाई बस र एम्बुलेन्स दिएको छ ।
नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले दूतावासपरिसरमा रहेको महात्मा गान्धीको प्रतिमामा पुष्प गुच्छा अर्पण गरी उपहार दिएका हुन् ।
स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गरिरहेका विभिन्न सरकारी, गैरसरकारी एवं गैरनाफामूलक संघसंस्थालाई ४१ वटा एम्बुलेन्स र ६ वटा बस उपहारस्वरूप प्रदान गरिएको भारतीय दूतावासले जनाएको छ ।
दूतावासले लामो समयदेखि नेपालका सरकारी तथा गैरनाफामूलक संस्थाहरूलाई हरेक वर्ष एम्बुलेन्स तथा विद्यालयका लागि बस उपहारस्वरूप प्रदान गर्दै आएको छ ।
सन् १९९४ देखि आजसम्म आठ सय २३ वटा एम्बुलेन्स उपलब्ध गराइसकेको दूतावासले जनाएको छ ।
राजदूतावासले यो वर्ष पहिलोपटक तीन प्रकारका एड्भान्स, बेसिक र कमन लाइफ सपोर्ट श्रेणीका एम्बुलेन्स प्रदान गरेको जनाएको छ ।
दूतावासका अनुसार तीनै प्रकारका एम्बुलेन्स नेपाल सरकारको मापदण्डअनुसार निर्माण गरिएका हुन् । एड्भान्सअन्तर्गतका एम्बुलेन्समा ट्राभलिङ भेन्टिलेटर, इसिजी तथा अक्सिजन मोनिटर, अटोमेटेड एक्सटर्नल डिफिब्रिलेटर, नेबुलाइजर सेट, रक्तचाप जाँच उपकरण, स्टेथोस्कोप, एम्बु ब्याग, ट्युब तथा काथेटर, ह्विलचेयर, स्ट्रेचर, रेडियो सञ्चार यन्त्र तथा फोर जी मोबाइल डिभाइस आदि हुनेछन् ।
बेसिक एम्बुलेन्समा भेन्टिलेटरबाहेक यी सबै सुविधा हुनेछन् । कमनअन्तर्गतका एम्बुलेन्समा भने फोर ह्विल प्रणाली जडान भएकाले यी एम्बुलेन्सहरू पहाडी तथा हिमाली क्षेत्रका लागि उपयुक्त छन् ।
आज ६ जिल्लाका शैक्षिक संस्थाहरूलाई वितरण गरिएका ६ बस गरी हालसम्म दूतावासले नेपालभर एक सय ६० वटा विद्यालय बस उपहारस्वरूप प्रदान गरिसकेको जनाएको छ ।
नेपालले स्वास्थ्यको क्षेत्रमा विशेषगरी आकस्मिक चिकित्सा सेवाको क्षेत्रमा गरेको प्रयासमा भारत सरकारले जारी राखेको निरन्तर सहयोगअनुरूप आज उक्त एम्बुलेन्स तथा बसहरू प्रदान गरिएको दूतावासले जनाएको छ ।