आफूहरूले विभिन्न काममा निर्माण कम्पनीलाई प्रदान गरेको नगद र जिन्सी सामानबापतको ४० लाख रकम नपाएको भन्दै दैलेखको दुल्लु नगरपालिकाका स्थानीयले डोजर कब्जा गरेका छन् ।
विगत तीन वर्षदेखि हिमाल कन्स्ट्रक्सनले दुल्लुका विभिन्न स्थानमा काम गर्दा त्यहाँका व्यापारीहरूबाट ४० लाख रकम लिएको र रकम माग गर्दा डोजर दुल्लु नगरपालिकामै रहेको र डोजर लैजाने वेलामा सबको रकम दिने प्रतिबद्धता जनाए पनि नगरपालिकासँग मिलेर रातारात डोजर अन्यत्र लैजान लागेको थाहा पाएपछि स्थानीयले बाटोमै डोजर नियन्त्रणमा लिएका हुन् ।
आफूहरूले बाध्य भएर डोजर कब्जा गरेको स्थानीय व्यापारी लालबहादुर खड्काले बताए । उनले भने, ‘हामीलाई पैसा दिन्छु भनियो, तर रातारात नगरपालिकासँग मिलेर मेसिन लैजान लागेको थाहा पाएपछि इलाका प्रहरी कार्यालय दुल्लु, इलाका प्रशासन कार्यालय दुल्लु र दैलेखमा समेत जानकारी गराउँदै आफूहरूले रकम नपाएसम्म डोजर परिचालन गर्न नदिने भन्दै डोजर कब्जा गरेका हौँ ।’ ठेकेदार एवं डोजर सञ्चालक खगेन्द्र शाहीले जनताको तिर्नुपर्ने रकमको कागजात गरेर दिन्छु भन्दै प्रतिबद्धता नगरेसम्म डोजर चलाउन नदिने स्थानीयको अडान छ ।
स्थानीयले डोजर अगाडि बढ्न नदिएपछि डोजरचालकले नियतवश ब्याट्री पड्काएको स्थानीय कासीराम खड्काले बताए । स्थानीयले दुल्लु नगरपालिका हुँदै मध्यपहाडी सडकखण्ड जाने बाटोमै डोजर कब्जा गरेर राखेका छन् । प्रहरीले दुवै पक्षको सुरक्षा गरेको छ ।
जिल्ला प्रशासन कार्यालय दैलेखमा समेत स्थानीयले यो विषयमा जानकारी गराएको र प्रशासनले दुवै समूहबीच हुन सक्ने अराजक गतिविधिहरूलाई रोक्दै संवादका माध्यमबाट विवाद समाधान गर्न र समाधान नभए दुवै पक्षलाई अदालती प्रक्रियामा जानेबारे सुझाब दिएको छ ।