सांसद सुदन किराँतीले तलबबाट विपन्नको छानो हालिदिए

मंगलबार, १३ असोज, २०७७
डिजिटल संस्करण

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा भोजपुरका प्रतिनिधिसभा सदस्य सुदन किराँतीले आफ्नो तलबबाट स्थानीय एक विपन्न परिवारको घरको छाना फेरिदिएका छन् । उनले साल्पासिलिछो गाउँपालिका– ५ दोभानेका उत्तरकुमारी राईको घर एक महिनाको तलब खर्चेर टिनले छाइदिएका हुन् । 

४२ वर्षीया उत्तरकुमारी एक छोरा र दुई छोरीको साथमा बस्दै आएकी छिन् । उनका श्रीमान् दश वर्षदेखि बेपत्ता छन् भने एउटा आँखा देख्दिनन् । बनिबुतो गरेर पेट पाल्दै आएका उनीहरू बस्ने घरको टुंगोसमेत थिएन । मावली घरमा बस्दै आएका उनीहरूलाई गाउँले मिलेर घर बनाइदिएका थिए । तर, छानो छाउन कुनै स्रोत थिएन । यो समस्याबारे सांसद किराँतीले थाहा पाएपछि तलबबाट टिनको छानो हालिदिएका हुन् । स्थायी छानो पाएपछि विपन्न परिवारमा खुसी छाएको छ । ‘आफ्नो भन्नु केही छैन । गाउँका मान्छेले घर त बनाइदिनुभयो, तर यसलाई छानो हाल्न सकेका थिएनौँ,’ गहभरि आँसु टिलपिल पार्दै उत्तरकुमारी बोलिन्, ‘हामी घरभित्रै पनि रुझ्दै बस्नुपर्थ्याे । हाम्रो समस्यालाई सांसदले सधैँका लागि हटाइदिनुभएको छ । हाम्रो दुःखमा घरैमा आएर सांसदले सहयोग गर्नुभएको छ, हामी अत्यन्तै खुसी भएका छौँ ।’

सांसद किराँतीले पनि सहयोग गर्न पाएकोमा निकै खुसी मिलेको बताए । ‘घरबारविहीन परिवारलाई मेरो एक महिनाको तलबसुविधा दिँदा उहाँहरू खुसी हुनुहुन्छ भने किन नदिने ?’ किराँतीले भने, ‘उहाँहरू छानो पाएर खुसी हुनुभयो, म उहाँहरूको खुसी देखेर झन् खुसी भएँ ।’

सांसद सुदन किराँतीले कम्तीमा महिनाको एकपटक आफ्नो निर्वाचन क्षेत्र पुगेर नागरिक र कार्यकर्ताहरूसँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको सुखदुःखमा साथ दिने गरेका छन् । 

सुझावित समाचार