कोरियन स्वादको हटपट चाउचाउ बजारमा

सोमबार, १२ असोज, २०७७
डिजिटल संस्करण

पोखरा नुडल्स प्रालिले फरक स्वादको हटपट चाउचाउ बजारमा ल्याएको छ । लामो समयको अनुसन्धानपछि पोखरा नुडल्सले फरक स्वादको हटपट चाउचाउ बजारमा ल्याएको हो ।

उपभोक्ताको रोजाइलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रियस्तरको हटपट सिरिजका ब्रान्डहरूको पहिलो प्रस्तुति बजारमा भित्र्याइएको  सो कम्पनीले जनाएको छ । नेपालमा कोरियन चाउचाउको स्वाद बढी रुचाइएकाले पहिलोपटक नेपाली र कोरियन स्वादको सम्मिश्रणका रूपमा हटपट चाउचाउ (रामेन) बनेको कम्पनीका अध्यक्ष श्रीराम पाण्डेले बताए ।

करिब ढेड वर्षको अनुसन्धानपछि यो चाउचाउ बजारमा ल्याएको उनको भनाइ थियो । कम्पनीले हाल दुई संस्करणमा हटपट चाउचाउ बजारमा ल्याएको जनाएको छ ।

हटपट चिकेन गोरमेट स्पाइसी सुपी नुडल्स भएकाले झोल बनाएर खाँदा स्वादिलो हुने कम्पनीले जनाएको छ । यो धेरै पिरो नभएकाले सबै उमेरका व्यक्तिलाई उपयुक्त हुने कम्पनीको दाबी छ । यसमा सिजनिङ पाउडर र ड्राई भेजिटेबलको प्याकेट हुन्छ ।

 त्यस्तै, हटपट टू एक्स स्पाइसी उमालेको पानी फ्याँकेर चाउचाउलाई सुक्खा बनाई स्पाइसी पेस्ट एवं रोस्टेड फ्लेक्स मोलेर खाँदा वास्तविक स्वाद आउने कम्पनीको दाबी छ । टू एक्स स्पाइसी अलि पिरो मन पराउनेहरूका लागि बनेको कम्पनीले जनाएको छ । दुई प्रकारको हटपट प्रतिप्याकेट १ सय ग्राम र मूल्य ५० रुपैयाँ कायम गरिएको जनाइएको छ । 

 ब्रान्ड एम्बेस्डरमा खतिवडा
 कम्पनीले हटपट नुडल्स सिरिज सबै उत्पादनहरूका लागि पूर्वमिस नेपाल शृंखला खतिवडालाई अनुबन्ध गरेको छ । आफ्ना उत्पादन भविष्यमा नेपालबाहिर पनि निर्यात गर्ने योजना भएकाले अन्तर्राष्ट्रियस्तरमा पहिचान बनाएकी खतिवडालाई ब्रान्ड एम्बेस्डरमा छानेको अध्यक्ष पाण्डेले बताए । 

सुझावित समाचार