पोखरामा गुडे गाडी, तर छैनन् यात्रु

शुक्रबार, ९ असोज, २०७७
डिजिटल संस्करण

कोरोना संक्रमण नियन्त्रणका लागि लामो लकडाउन र निषेधाज्ञाका चरण पार गरेपछि लामो दूरीका सवारीसाधन सञ्चालन भए पनि पोखरामा सवारीसाधन चढ्ने यात्रु भने छैनन् । 

कोरोना संक्रमणको दर बढेसँगै यात्रुहरू सकेसम्म यात्रा गर्न नचाहने र स्वयं व्यवसायीले समेत सकेसम्म यात्रा नगर्न आग्रह गर्दै व्यवसाय सञ्चालन गर्नुपर्दा न्यून यात्रुले मात्र सेवा लिएका छन् । 

पोखरालाई मुख्य आधार बनाएर देशभर यातायात सञ्चालन रहेको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र केसीले आफ्ना कुल क्षमताको २५ प्रतिशत बसबाट सेवा दिए पनि त्यसको सिटक्षमताको सातदेखि १० प्रतिशत यात्रुले मात्र सेवा लिने गरेको बताए । 

यात्रु नभएपछि व्यवसायीले सवारी चलाउन अनिच्छा देखाएको, तर आलोपालो व्यवस्थापन गरिएको उनको भनाइ छ । 

विगत ६ महिना लामो समय  सवारीसाधन ग्यारेजमा थन्क्याएर बसेका व्यवसायी १ असोजबाट सेवा सुरु गर्न पाउँदा उत्साहित थिए ।

थोरै भए पनि यात्रु चढ्ने र सवारीसाधनको किस्ता तिर्न सक्नेमा अशावादी बनेका व्यवसायी अहिले निराश बनेको अध्यक्ष केसीको भनाइ छ । 

उनका अनुसार एकपटक सेवा दिएको बसलाई अर्कोपटक लैजान व्यवसायीले अनिच्छा प्रकट गर्न थालेका छन् । 

‘सवारी गुडाएको खर्च कसैले उठाउनै सकेनन् । घाटामा गुडाएपछि अर्कोपटक सेवा दिन अनिच्छुक हुनु पनि स्वाभाविक नै हो । तर, पहिलोपटक गुडाउन भने व्यवसायी खुसी छन्,’  उनले भने । 

अध्यक्ष केसीले आफ्नै गाडी काँकडभिट्टा पुऱ्याएर ल्याउँदा पाँच हजार खल्तीबाट बुझाउनुपरेको सुनाउँछन् । आफूहरू घाटा सहेरै भए पनि पुरानो भाडादरमा यात्रु बोक्न तयार रहेको उनको भनाइ छ । 

‘हामी अहिले घाटामै सेवा दिइरहेका छौँ । यात्रु सिटक्षमताको १० प्रतिशत पनि छैनन् । तैपनि हामीलाई पूरै क्षमतामा यात्रु राख्न दिने हो भने ५० प्रतिशत बढी भाडा लिनु हाम्रो रहर छैन । पुरानै दरमा यात्रु बोक्न तयार छौैँ,’ उनले भने, ‘जहाजमा ठूला मान्छेहरू चढ्ने भएकाले पूरै क्षमतामा चढ्न दिने । गरिब जनता चढ्ने सार्वजनिक यातायातमा किन पूरै क्षमतामा नदिने ?’

सिटीबसको पनि हालत उस्तै 
लामो दूरीमा गुड्ने बसको जस्तै हालत पोखरामा गुड्ने सिटीबसको पनि छ । बाहिरबाट यात्रु आएका छैनन् । स्कुल–कलेजहरू सञ्चालनमा आएका छैनन् ।

चढ्ने यात्रु नै बाहिरबाट आउने यात्रु र  विद्यार्थी रहेकाे पोखरा यातायात प्रालिका प्रबन्ध –र्देशक अमृत शर्माले बताए । 
एउटा बसले बढीमा सातजनासम्म बोक्न पाएको उनको भनाइ छ । पोखरा यातायातका झन्डै चार सय गाडीमा अहिले ८० वटा गाडी गुडेका उनले बताए । 

असोज लागेपछि निरन्तर परेको झरीका कारण पनि यात्रु नआएका हुन सक्ने भन्दै घाम लागेमा केही यात्रु बढ्ने र खर्च उठाउने अपेक्षामा रहेको उनले सुनाए । 

सुझावित समाचार