वार्ता जारी रहेकै वेला अफगानिस्तानका दुई जिल्लामा तालिबानको आक्रमण, चार प्रहरीसहित २१ को मृत्यु

आइतबार, ४ असोज, २०७७
डिजिटल संस्करण

अफगानिस्तानको उत्तरी प्रान्तका दुई जिल्लामा तालिबानका लडाकुहरूले भीषण हमला गरेका छन् । तालिबानी सशस्त्र लडाकुहरूले गरेको सो हमलाबाट २१ जनाको ज्यान गएको अधिकारीहरूले जानकारी दिएका छन् । 

उत्तरी अफगानिस्तानको सुहादा र खास जिल्लाका कैयौँ स्थानमा उनीहरूले हमला गरेका हुन् । ती हमलामा परी १७ जना तालिबानी लडाकु नै मारिएका बताइएको छ । साथै चारजना प्रहरी पनि मारिएका छन् ।

आइतबार बिहान ती दुई जिल्लाका सहरमा उनीहरूले हमला गरेका थिए । सुनियोजित रूपमा एकैपटक ती सहरमा हमला गरिएको अधिकारीहरूले जनाएका छन् । 

सुहादा जिल्लाका सहरमा १० जना र खास जिल्लाको एक सहरमा अरू सातजना मारिएका बताइएको छ । उनीहरूले सुरक्षा जाँच चौकीमा आक्रमण गरेका थिए । 

हालै मात्र अफगान सरकार र त्यहाँका ताबिलानहरूबीच कतारको राजधानी दोहामा शान्ति वार्ता सुरु भएको छ । उता वार्ता जारी नै रहेका वेला यता तालिबानले भने आक्रमण सुरु गरेका छन् । तैपनि यस विषयमा तालिबानी समूहका तर्फबाट भने कुनै पनि प्रतिक्रिया आएको छैन ।

सुझावित समाचार