नारायणगढ-मुग्लिन सडक अवरुद्ध

बुधबार, ३१ भदौ, २०७७
डिजिटल संस्करण

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । निरन्तर वर्षाका कारण यस सडकखण्डको चितवनको इच्छाकामना गाउँपालिका– ६ चारकिलो भन्ने स्थानमा पहाडबाट लेदो झर्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।     

पहाडबाट लेदो झर्ने क्रम नरोकिँदा आज बिहान ६ बजेदेखि याे सडकखण्ड अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिए । 

सडकमा झरेको लेदो हटाउनका लागि डोजर पुगेको भए पनि पानी परिरहेका कारण हटाउन समस्या भएको तामाङको भनाइ छ । पानी पर्न रोकिएपछि लेदो हटाएर आवागमन सहज बनाइने तामाङले बताए ।

‘खासै धेरै लेदो झरेको छैन, तर झर्ने क्रम रोकिएको पनि छैन,’ तामाङले भने, ‘हटाउन सुरु गरेको दुई घन्टामा लेदो हटाएर सकिन्छ ।’ निरन्तर पानी परिरहेकाले सो सडकखण्ड पटकपटक अवरुद्ध भइरहेको छ ।     

सुझावित समाचार