विश्वले गाजाको समस्यालाई ‘समान्य’ रूपमा लिइरह्यो भने केहीपछि यो भूमि र जनतालाई जोगाउन ढिलो हुन सक्छ
मेरो परिवार र गाजाका धेरै मानिसका लागि अगस्ट महिना धेरै भयानक रह्यो । यस अवधि इजरायलले गाजापट्टीमा दैनिकजसो बमबारी गर्यो । यसले हामीलाई निरन्तर गइरहेको भूकम्पको इपिसेन्टरमा फसेको अनुभव गरायो । कुनै बम हाम्रो घरको एक किमि टाढा मात्रै खस्थ्यो र विस्फोटको आवाज यति ठूलो हुन्थ्यो कि मेरी दुई वर्षकी भतिजी रातभर सुत्न सक्दिनथी ।
यो अगस्ट महिनाको कुरा मात्र होइन । इजरायली सेना, युद्धक विमान, ड्रोन तथा तोपहरूले गाजामा बसोवास गर्ने मानिसलाई निरन्तर त्रासमा राखेको छ र कैयौँको हत्या गरिसकेको छ । यी कार्यका लागि दशकौँसम्म कसैले दण्डसजाय भोगेको देखिँदैन । इजरायली आक्रमण गाजाका नागरिकको दैनिकीको हिस्सा हो । यही ठाउँमा हुुर्किएको म बाल्यकालमा सधैँ संकटकालको महसुस गर्थें । मेरो परिवार पनि कुनै–कुनै दुर्घटनाका लागि सधैँ तयार रहन्थ्यो । किनकि जुनसुकै वेला, जसलाई जे पनि हुन सक्थ्यो । सानो हँुदा मलाई प्रत्येक दिन डरैडरमा बाँच्नुलाई सामान्य रूपमा लिन नहुने लाग्थ्यो । तर पनि मेरो वरिपरिको वातावरणले असर गरिहाल्थ्यो । अहिले मेरी भतिजी र अन्य हजारौँ बालबालिका गाजापट्टीमाथिको इजरायली घेराबन्दीमा बाँचिरहेका छन् र उनीहरू पनि मेरो पुस्ताको जस्तै डर र संकटको भावनामा हुर्किरहेका छन् । यो बालबालिकामाथिको जघन्य अपराध हो । गाजा विगत १३ वर्षदेखि घेराबन्दीमा छ । यस क्रममा यहाँको आमजनसंख्यामा आधारभूत आवश्यकताको अभाव हुँदा पनि कुनै दया देखाइएको छैन ।
इजरायलले आफ्नो औपनिवेशिक पूर्वाधार प्रयोग गरेर हामी वरिपरिको जमिन, समुद्र र आकाशमाथि नियन्त्रण राख्छ । घरभित्र बस्दा पनि इजरायली सैनिकका ड्रोनको आवाजले आफू बन्दी भएको महसुस गराउँछ । इजरायलले आफ्नो शक्ति प्रदर्शन गर्न यस भूमिभित्र पनि कैयौँ ठाउँमा जाली, पर्खाल लगाएको छ । गाजाका सडकमा इजरायली सैनिक गाडी समय–समयमा गुड्छन् । विभिन्न स्थानमा चेकपोइन्ट राखिएका छन् । इजरायल गाजामा बसोवास गर्ने प्यालेस्टाइनीहरूलाई निरन्तर आफ्नो उपस्थिति देखाउने प्रयासमा देखिन्छ ।
यी क्रियाकलापबाट इजरायलले गाजा निवासीलाई ‘तिमीहरूको जीवन सामान्य हुन दिँदैनौँ’ भनेजस्तो लाग्छ । इजरायलले आफ्नो प्रोपोगान्डा संयन्त्र र विश्वभर छरिएर रहेका मित्रशक्तिको सहयोगमा गाजामा बस्ने मानिसलाई हिंस्रक ‘अतिवादी’को रूपमा प्रस्तुत गर्छ र इजरायली अतिक्रमणलाई ‘सभ्य’ देखाउन खोज्छ । तर, यथार्थ भने फरक छ । इजरायलले आतंकित बनाउने प्रयास गरेको भए पनि गाजाका नागरिक विभिन्न माध्यमबाट आफ्नो कथा संसारलाई सुनाइरहेका छन् । हामीहरू विश्वसामु आफ्नो कारुणिक यथार्थ बताउन सम्पूर्ण माध्यम प्रयोग गरिरहेका छौँ । यस क्रममा हामीले आफ्नो अधिकार माग्ने र अतिक्रमणकारीलाई लज्जित बनाउने प्रयास गर्नमा केन्द्रित भएका छौँ । गाजाका धेरै नागरिकजस्तै म पनि यस काममा संलग्न छु । यसका लागि मैले धेरै धम्की पाएँ । एकपटक मेरो खुट्टामा गोलीसमेत हानियो । तर, उपनिवेश हटेको भविष्यका लागि हामीसँग प्रतिरोध गर्नुबाहेक अन्य विकल्प छैन ।
तर, विश्वले हाम्रो कुरा सुन्न ध्यान दिइरहेको छैन । प्यालेस्टाइनमाथिको इजरायली अपराध पटक–पटक उजागर हुँदा पनि विश्वका अधिकांश सरकारले इजरायलमाथि कुनै दबाब दिएको देखिँदैन । अन्तर्राष्ट्रिय समुदायले हाम्रो अवस्थामाथि बेवास्ता गरिरहन सक्दैन । अन्यथा हाम्रो समग्र राष्ट्र र राष्ट्रवासी नै नामेट हुने खतरा बढेर गएको छ । इजरायलले प्यालेस्टाइनमाथि धेरै लामो समयसम्म विपत् निम्त्याएकाले बिस्तारै हाम्रो अवस्था बाँकी विश्वका लागि ‘सामान्य’ देखिन थालेको छ ।
गाजामा बसोवास गर्ने समुदाय र व्यक्तिमाथि आघात गर्ने इजरायलको निरन्तर प्रयास कुनै पनि हिसाबमा सामान्य होइन । प्यालेस्टाइनीहरूसँग आफूमाथि परेको आपतको प्रतिरोध नगर्नुको विकल्प छैन । यसका लागि त्यस क्षेत्रमा तल्लो स्तरमा प्रतिरोध छ । तर, अन्तर्राष्ट्रिय समुदायको समर्थन नहुने हो भने स्वतन्त्रता, समानता र प्रतिष्ठाका लागि भइरहेको प्यालेस्टाइनी संघर्षले कुनै लक्ष्य हासिल गर्नेछैन । विगतमा अन्तर्राष्ट्रिय समुदायको सहयोगपछि मात्र दक्षिण अफ्रिकाको रंगभेदी शासन अन्त्य भएको थियो । प्यालेस्टाइनीमाथिको अतिक्रमणका लागि इजरायलमाथि पनि अन्तर्राष्ट्रिय समुदायले दबाब दिनुपर्छ । यदि विश्वले हाम्रो परिस्थितिलाई सामान्य रूपमा लिइरह्यो भने हाम्रो भूमि र जनतालाई बचाउन ढिलो हुन सक्छ ।
(मजेद अबुसलाम प्यालेस्टाइनी पत्रकार, प्राज्ञ, अभियानकर्मी तथा मानव–अधिकारकर्मी हुन्)
अल जजिराबाट