कोरोना संक्रमणबाट मोरङका दुईजना र सिराहाका एकजनाको आइतबार राति निधन भएको छ ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड– १९ अस्पतालमा उपचारको क्रममा मोरङका दुईजनाको मृत्यु भएको हो ।
प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले ४० वर्षीय र ७० वर्षीय पुरुषको उपचारकै क्रममा मृत्यु भएको बताए ।
मृत्यु भएका ४० वर्षीय पुरुषमा कुनै दीर्घरोग थिएन । दीर्घरोग नभएको बिमारीको मृत्यु भएकाे प्रतिष्ठानमा पहिलो हो ।
त्यसैगरी सिराहाको कर्जन्हा नगरपालिका– २ बन्दीपुरका एक संक्रमित ३५ वर्षीया महिलाको जनकपुरस्थित कोभिड अस्पतालमा आइतबार साँझ मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय सिराहाका प्रमुख कृष्णदेव यादवले साँझ ५ बजे अस्पतालको आइसोलेसनमै उनको मृत्यु भएको बताए ।
कर्जन्हा– २ का वडाध्यक्ष गणेशकुमार अधिकारीले सोमबार बन्दीपुर ल्याएर सेनाको टोलीले स्वास्थ्य प्रोटोकलअनुसार कमला नदी किनारमा व्यवस्थापन गर्ने तयारी गरेको जानकारी दिए ।