साँप पनि काम लाग्छ

आइतबार, २८ भदौ, २०७७
डिजिटल संस्करण

ब्रिटिस राजले भारतीय स्वतन्त्रता सेनानीहरूलाई विभिन्न बहानामा जेल हाल्ने गथ्र्यो । यसै क्रममा एकपटक महात्मा गान्धी र बल्लभभाइ पटेल एउटै जेल (यरवदा जेल)मा परेका थिए । उनीहरूबीच जेलमा पनि विभिन्न विषयमा बहस हुन्थ्यो ।

बहस सुन्न अरू बन्दी पनि आउँथे । एक दिन सामान्य विषयमा कुराकानी भइरहँदा गान्धीले भने, ‘कुनै समय मरेको साँप पनि काम आउन सक्छ ।’ गान्धीले आफ्नो कुरालाई बुझाउन एउटा कथा भन्न थाले– एक समय एउटी गरिब एकल महिलाको घरमा साँप पस्यो ।

रातको समय घरमा एक्लो भएका वेला आएको साँप देखेर महिला आत्तिइन् । उनले सहयोगका लागि गुहार मागिन् । छिमेकीहरू आए र साँपलाई मारे । साँप मारेपछि गाड्ने जिम्मा महिलालाई दिएर छिमेकीहरू फर्किए । महिलाले साँपलाई बिहान गाड्ने सोचेर छानामाथि राखिन् ।

आकाशमा उड्दै गरेको चिलले त्यो साँप देख्यो । चिलको मुखमा हिराको हार थियो । साँप उठाउने वेलामा हार छानामै छुट्यो । बिहान महिला हार देखेर धेरै खुसी भइन् । त्यस दिनबाट उनको दुःखका दिन गए ।

बल्लभभाइ पटेलले गान्धीको कुरामा सहमति जनाउँदै उस्तै अर्को कथा सुनाए– एक दिन एकजना बानियाँले आफ्नो घरभित्र साँप देखे । घरमा कोही थिएन । उनलाई एक्लै साँप मार्ने साहस आएन । उनले कसौँडीले साँपलाई छोपिदिए । त्यही रात उनको घरमा चोर पस्यो ।

चोर खजाना खोज्दै विभिन्न कोठा चहार्दे भान्सामा पुग्यो र घोप्टाएको कसौँडी देखेर मख्ख हुँदै भन्यो,’ बानियाँले आफ्नो सम्पत्ति यहाँ लुकाएको रहेछ ।’ चोर अघि बढेर कसौडी उठायो र साँप देखेर भाग्यो । यसरी बानियाँ चोरिनबाट बच्यो । 

See More On

सुझावित समाचार