खेलाडी चन्द्रकलामाथि जातीय विभेद गर्ने अभियुक्तसँग जनही तीन लाख धरौटी माग

शनिबार, २७ भदौ, २०७७
डिजिटल संस्करण

नेपाल पुलिस क्लबमा आबद्ध एथ्लेटिक्सकी राष्ट्रिय कीर्तिमानी खेलाडी चन्द्रकला लामगादेलाई जातीय विभेद गर्दै कुटपिटमा संलग्न अभियुक्तलाई जिल्ला अदालत झापाले जनही तीन लाख धरौटी मागेको छ ।

घटनाका अभियुक्त दुर्गा श्रेष्ठ र उनकी श्रीमती विष्णुलाई जिल्ला अदालत झापाले जनही तीन लाखका दरले ६ लाख धरौटीमा रिहा गरेको हो ।

जिल्ला न्यायाधीश सन्तोषप्रसाद पराजुलीको इजलासले श्रेष्ठदम्पतीलाई ६ लाख धरौटीमा रिहा गरेको जिल्ला अदालत झापाका सूचना अधिकारी अम्बरबहादुर निरौलाले जानकारी दिए । जातीय विभेद तथा छुवाछुतको मुद्दामा सम्भवतः झापामा यो नै सबैभन्दा धेरै धरौटी रहेको उनले बताए ।

एथ्लेटिक्सतर्फ पटकपटक कीर्तिमान राख्न सफल खेलाडी लामगादेमाथि कुट्दै लखेटिएका दलित युवालाई जोगाउन खोज्दा मेचीनगर– १३ चारआलीमा गत ८ भदौमा कुटपिट भएको थियो ।

स्थानीय राजन दर्जीलाई जातीय रूपमा होच्याउने गरी गाली गर्दै श्रेष्ठदम्पतीले निर्घात कुटपिट गरेका थिए । त्यो क्रममा दलित समुदायमाथि होच्याउने शब्द प्रयोग नगर्न र यस्तो शब्द प्रयोग गरे कानुनी कारबाही हुने भन्दै सम्झाउँदा श्रेष्ठदम्पतीले सात महिनाका गर्भवती चन्द्रकलालाई निर्घात कुटपिट गरेका थिए । 

कुटपिटपछि घाइते भएकी चन्द्रकला केही दिनअघि मात्र अस्पतालबाट डिस्चार्ज भएकी छिन् । उक्त घटनापछि चन्द्रकलाका श्रीमान् सुमन खातीले इलाका प्रहरी कार्यालय धुलाबारीमा जातीय छुवाछुत गरेको भन्दै जाहेरी दिएका थिए ।

जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीले तीन महिनादेखि तीन वर्षसम्मको कदै माग दाबी गर्दै जिल्ला अदालतमा मिसिल पेस गरेको थियो । ‘सबैको सहयोगमा अनुसन्धान सूक्ष्म रूपले गरेका थियौँ । हामीले पत्रिकामा आएका समाचार पनि मिसिलमा हालेर अदालतमा पेस गऱ्याैँ,’ इलाका प्रहरी कार्यालय धुलाबारीका इन्चार्ज प्रहरी निरीक्षक कैलाश चौधरीले भने, ‘अदालतले जनही तीन लाख धरौटी माग गर्ने आदेश दिएकाे छ ।’ 

सुझावित समाचार