जोन्टी रोड्स बने स्विडेनका मुख्य प्रशिक्षक

शनिबार, २७ भदौ, २०७७
डिजिटल संस्करण

दक्षिण अफ्रिकाका पूर्वअलराउन्डर जोन्टी रोड्सले पहिलोपटक राष्ट्रिय क्रिकेट टोलीको जिम्मेवारी सम्हाल्ने

किंग्स ११ पन्जाबका प्रशिक्षक जोन्टी रोड्स पहिलोपटक राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक बनेका छन् । दक्षिण अफ्रिकाका पूर्वअलराउन्डर जोड्स युरोपियन राष्ट्र स्विडेनको क्रिकेट टोली सम्हाल्ने भएका हुन् । स्विडेन क्रिकेट फेडेरेसन (एससिएफ)ले ५१ वर्षीय रोड्सलाई मुख्य प्रशिक्षकका रूपमा चयन गरेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । 

अहिले रोड्स इन्डियन प्रिमियर लिग (आइपिएल) का लागि दुबईमा किंग्स पन्जाबका खेलाडीलाई प्रशिक्षण दिइरहेका छन् । आइपिएलको समाप्तिसँगै रोड्स परिवार स्विडेन लाग्नेछन् । स्विडेनले पछिल्लो समय दक्षिण अफ्रिकाको जुनियर क्रिकेट क्षेत्रको स्तर बढाउन लगानी गरिरहेको छ । यसै सहकार्यका कारण स्विडेन र दक्षिण अफ्रिकाबीचको क्रिकेट सम्बन्ध निकै राम्रो मानिन्छ । 

‘हामीले दक्षिण अफ्रिकाको क्रिकेट विकासका लागि लगानी गरिरहेका छौँ, त्यही राष्ट्रका महान् खेलाडीलाई राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका रूपमा नियुक्त गरेका छौँ,’ एससिएफले जारी गरेको विज्ञप्तिमा भनिएको छ । रोड्सले पहिलोपटक राष्ट्रिय टोली सम्हाल्न पाउँदा अत्यन्तै खुसी लागेको बताएका छन् । 

रोड्स भन्छन्, ‘युरोपमा बसाइँसराइ गर्न पाउँदा खुसी छौँ, मलगायत परिवारलाई स्विडेन राम्रो नै हुने विश्वास लिएको छु ।’ क्रिकेटमा माथि उठिरहेको युरोपियन राष्ट्रमा अनुभव बाँड्न अवसर दिएको स्विडेनलाई उनले धन्यवाद दिए । ‘म स्विडेन राष्ट्रिय क्रिकेट टोलीप्रति कृतज्ञ छु, मेरो शक्ति र अनुभवप्रति विश्वास गर्नुभयो,’ उत्साहित हुँदै रोड्सले भने, ‘नयाँ जीवनको सुरुवात गर्न म लालायित छु ।’

‘रोड्सले स्विडेनको क्रिकेट विकासमा मद्दत पु¥याउने विश्वास छ, तल्लो स्तरदेखि नै क्रिकेट विकास गराउने जिम्मेवारी सुम्पिएको छ,’ एससिएफले भन्यो, ‘विश्व क्रिकेटमा फरक स्थान बनाएका रोड्सले आधुनिक क्रिकेट सिकाउनुहुनेछ, जसबाट हाम्रा क्रिकेटर लाभान्वित हुनेछन् ।’ रोड्सले १९९३ देखि २००३ सम्म दक्षिण अफ्रिकी टोलीबाट प्रतिस्पर्धा गरेका थिए । रोड्सले २४५ एकदिवसीय र २५ टेस्ट खेल खेले । 

सुझावित समाचार