तीन वर्षमा बढुवा गर्न निजामती कर्मचारीको माग

बिहिबार, २५ भदौ, २०७७
डिजिटल संस्करण

निजामती  कर्मचारीले प्रत्येक तीन वर्षमा तीनै तहका कर्मचारीलाई बढुवा गर्नुपर्ने माग गरेका छन् । बागमती प्रदेश सरकारलाई कर्मचारी संगठनहरूले १०बुँदे संयुक्त मागपत्र बुझाउँदै तीन वर्षमा बढुवा गर्नुपर्ने माग गरेका हुन् । निजामती कर्मचारीहरूको ट्रेड युनियनहरू नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन (संघ) र नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती)ले प्रमुख सचिव डा. मानबहादुर बिकेमार्फत मुख्यमन्त्री डोरमणि पौडेललाई बुझाएको माग पत्रमा संघीय, प्रदेश र स्थानीय तहमा कार्यरत स्थायी कर्मचारीलाई तीन वर्षमा एक तह बढुवा गर्नुपर्ने उल्लेख छ । 

तीन संगठनले समायोजनसहितको सरुवा सहमतिले स्थानीय र प्रदेशमा समायोजन भएका कर्मचारीहरूको वृत्तिविकासमा प्रतिकूल असर पार्ने हुँदा सरुवा सहमति नदिने प्रदेश सरकारको निर्णयलाई कडाका साथ लागू गर्न माग गरेका छन् । 

संगठनहरूको बागमती प्रदेश समिति अध्यक्षहरू शरणकुमार गुरुङ, एकनारायण काफ्ले र पुरुषोत्ताेम रायमाझीद्वारा संयुक्त हस्ताक्षरित मागपत्रमा सहायक स्तर, चौथो तहमा कार्यालय सहयोगी, सवारीचालकबाट २५ प्रतिशत बढुवा हुने व्यवस्था गर्न माग गरिएको पत्रमा उल्लेख छ । 

संगठनहरूले बुझाएको मागपत्रमा भनिएको छ, ‘प्रदेशअन्तर्गत सबै रिक्त दरबन्दी प्रदेश लोकसेवा आयोगमार्फत अबिलम्ब पदपूर्ति गरियोस् ।’ संगठनहरूले प्रदेश सरकारमातहतका सबै मन्त्रालय र प्रदेश लोकसेवा आयोगमा मागपत्र बुझाएको जिल्लास्तरीय अन्तरट्रेड युनियन सञ्जालका सदस्य वसन्तराज गौतमले जानकारी दिए । 
 

सुझावित समाचार