खानेपानी संस्थानका एक कर्मचारी घुससहित पक्राउ

बिहिबार, २५ भदौ, २०७७
डिजिटल संस्करण

घुस लिएको आरोपमा खानेपानी संस्थानका एक कर्मचारी रंगेहात पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नेपाल खानेपानी संस्थान पोखरामा कार्यरत कर्मचारी कृष्णहरि वाग्लेलाई  घुस रकम २५ हजार रुपैयाँसहित रंगेहात पक्राउ गरेको हो । 

पोखरा– १ बगरको एक रेस्टुरेन्टबाट २५ हजार रुपैयाँ घुससहित नेपाल खानेपानी संस्थान पोखरा कार्यालय विन्ध्यबासिनीमा प्रशासन सहायक पदमा कार्यरत कृष्णहरि वाग्लेलाई रंगेहात पक्राउ गरिएको अख्तियार पोखराका प्रवक्ता मेघनाथ रिजालले जानकारी दिए । 

उनी बिहान नौ बजे सेवाग्राहीलाई रेस्टुरेन्टमा बोलाएर घुस लिइरहेकोको अवस्थामा पक्राउ परेका हुन् । 

घरमा जडान गरिएको खानेपानीको मिटर बिग्रिएपछि त्यसलाई परिवर्तन गर्न उनले २५ हजार रुपैयाँ  मागेका थिए । त्यही रकम लिने क्रममा उनी पक्राउ परेका जनाइएको छ । 

पक्राउ गरिएका वाग्लेलाई थप अनुसन्धानपछि अब अख्तियारको केन्द्रीय कार्यालय काठमाडौं टंगाल पठाउने तयारी रहेको प्रवक्ता रिजालले जानकारी दिएका छन् । 

‘हामीले उहाँलाई बगरको ट्याक्सीचोकनजिक एक रेस्टुरेन्टबाट पक्राउ गरी अनुसन्धान गरेर केन्द्रीय कार्यालय टंगाल पठाउँदै छौँ, अरू बाँकी प्रक्रिया सबै उहीँबाट अगाडि बढ्छ,’ उनले भने ।

सुझावित समाचार